विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । मुख्य प्रायोजनसम्बन्धी सम्झौता बुधबार एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा भएको हो ।
सम्झौताअनुसार म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा पनि विराट एक्स्पोसँग जोडिएका छन् ।
उद्योग संगठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा विराट एक्स्पो २०२६ आयोजना गर्दैछ । यो एक्स्पोको नवौं संस्करण हो । करिब तीन दशकदेखि आयोजना हुँदै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ ।
यसपटकको एक्स्पोलाई विगतका संस्करणभन्दा फराकिलो बनाउँदै उद्योग तथा उत्पादनको प्रदर्शनसँगै सिकाइ, रोजगारी, व्यापार विस्तार, लगानी, उद्यमशीलता, प्रविधि र मनोरञ्जनका गतिविधिसमेत समेटिने भएको छ । ‘लर्न एण्ड वर्क’, ‘बिल्ड’, ‘कनेक्ट’, ‘इन्फ्लुएन्स’लगायत अवधारणामार्फत सहभागीलाई विभिन्न अवसरसँग जोड्ने तयारी गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ । आयोजकले २ लाख ५० हजारभन्दा बढी दर्शक तथा आगन्तुकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ ।
सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताए । उनका अनुसार एक्स्पो वस्तु तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ व्यावसायिक अवसरबीच समन्वय गराउने मञ्चका रूपमा विकास भइरहेको छ ।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजकका रूपमा जोडिएसँगै एक्स्पोका गतिविधिमा थप ऊर्जा र आकर्षण थपिने बताए । उनले प्रायोजनलाई ब्रान्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोमा हुने विभिन्न कार्यक्रम र गतिविधिसँग प्रत्यक्ष रूपमा जोड्ने तयारी रहेको जानकारी दिए ।
एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौं संस्करणसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पो २०२६ मार्फत उद्योग, व्यापार, प्रविधि, लगानी र उद्यमशीलताका अवसरलाई एउटै मञ्चमा ल्याउने तयारी गरिएको छ ।
