विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनका क्रममा सुन्दरहरैंचामा भएको सांघातिक आक्रमण तथा अप्रिय घटनाप्रति नेपाली कांग्रेस विराटनगर–४ वडा कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वडा कार्यसमिति सभापति अर्जुन चुडालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको आन्तरिक अधिवेशनका क्रममा उम्मेदवारमाथि हातपात तथा आक्रमण हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ । लोकतन्त्रको संरक्षण र लोकतान्त्रिक संस्कारको प्रवर्द्धनमा प्रतिबद्ध पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामा हिंसा वा बल प्रयोग स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा जनाइएको छ ।
आन्तरिक प्रतिस्पर्धाका क्रममा असहमति र मतभेद हुनसक्ने भए पनि त्यसको समाधान पार्टीको विधान, स्थापित विधि र लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्ने वडा कार्यसमितिको भनाइ छ । अधिवेशनलाई प्रभावित पार्ने, उम्मेदवार तथा प्रतिनिधिलाई त्रसित बनाउने वा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गर्ने कुनै पनि गतिविधि कांग्रेसको लोकतान्त्रिक चरित्रअनुकूल नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार उक्त अधिवेशन प्रक्रियामा पार्टी सहमहामन्त्री डा. डिला संग्रौला पनि सहभागी थिइन् । उनीमाथि लक्षित गरी घटना घटाइएको दाबी गर्दै वडा कार्यसमितिले त्यसलाई निन्दनीय भनेको छ । घटनामा घाइते भएको भनिएका वडा प्रतिनिधित्व गर्ने क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तबदार, महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेलको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
घटनामा संलग्न व्यक्तिहरू, घटनाको कारण तथा प्रकृतिका सम्बन्धमा निष्पक्ष, तथ्यपरक र दबाबरहित छानबिन गर्नुपर्ने मागसमेत विज्ञप्तिमा गरिएको छ । घटनालाई राजनीतिक संरक्षण, दबाब वा प्रभावका आधारमा कमजोर बनाउने प्रयासले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासप्रति थप गम्भीर प्रश्न उठाउने चेतावनी दिइएको छ ।
वडा कार्यसमितिले अधिवेशन निर्वाचनको प्रतिस्पर्धा भएकाले त्यसलाई युद्धका रूपमा लिन नहुने उल्लेख गर्दै सबैलाई मत दिने अधिकार भए पनि कसैलाई कुटपिट गर्ने वा त्रसित बनाउने अधिकार नभएको स्पष्ट पारेको छ । उम्मेदवारको सुरक्षा, प्रतिनिधिको स्वतन्त्र मताधिकार तथा निर्वाचन प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्नु पार्टी नेतृत्व र निर्वाचन समितिको प्राथमिक जिम्मेवारी भएको विज्ञप्तिमा जनाइएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र घटनामा दोषी देखिएका व्यक्तिमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न पार्टी नेतृत्व तथा निर्वाचन समितिसमक्ष आग्रह गरिएको छ । घटनालाई सामान्य झडपका रूपमा नलिई यसबाट उत्पन्न गम्भीर प्रश्नलाई जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्ने वडा कार्यसमितिको माग छ ।
वडा कार्यसमितिले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको मागसमेत गरेको छ । विज्ञप्ति वडा सभापति अर्जुन चुडालले जारी गरेका हुन् ।