विराटनगर– नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डीला संग्रौलाले पार्टीलाई एकढिक्का बनाएर रूपान्तरणको पक्षमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। महामन्त्री बनेपछि पहिलो पटक बिहीबार विराटनगर विमानस्थलमा ओर्लिएकी संग्रौलाले विराटनगरवासीले आफूलाई पार्टीको गरिमामय पदमा पुर्याएकोमा गौरव महसुस गरेको बताइन्।
‘मेरो जिम्मेवारी बढेको छ। अहिलेको सन्दर्भमा सबै कांग्रेसजनलाई एकवद्ध बनाएर, एकढिक्का पारेर रूपान्तरणको पक्षमा हातेमालो गर्दै अघि बढाउने प्रतिबद्धता जाहेर गर्छु,’ उनले भनिन्।
विराटनगर लोकतन्त्र र परिवर्तनको भूमि भएको उल्लेख गर्दै उनले सबै कांग्रेसजनलाई मिलेर पार्टी निर्माणमा जुट्न आग्रह गरिन्। ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। कांग्रेसले नै देशमा समुन्नत नेपाल र सम्मानित जनता बनाउन सक्छ। त्यसैले सबै एकवद्ध भएर अघि बढौं,’ उनले भनिन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित संग्रौलाले पार्टीको इतिहासमा पहिलो महिला सभापति बनेको भन्दै पार्टीलाई थप सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
निर्वतमान सभापति शेरबहादुर देउवालगायतलाई पार्टीमा पुनः सहभागी गराउने विषयमा सोधिएको प्रश्नमा संग्रौलाले सभापति गगनकुमार थापाले देउवासँग संवाद अघि बढाउनुपर्ने बताइन्।
उनका अनुसार १५औं महाधिवेशनअघि सभापति थापाले देउवालाई पार्टीमा सहभागी गराउने प्रयास गरेका थिए। महाधिवेशनको उद्घाटन कार्यक्रममा पनि देउवाको सम्मानमा एउटा कुर्सी खाली राखिएको उनले स्मरण गरिन्।
‘अब फेरि सभापति गगन थापाले निर्वतमान सभापति शेरबहादुर देउवासँग वार्ता गर्नुपर्छ,’ उनले भनिन्, ‘आज कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्ने उद्देश्य सबैको छ। १५औं महाधिवेशनमा सहभागी भएका हुन् वा बाहिर रहेका कांग्रेसजन, सबैको एउटै धारणा बलियो कांग्रेस बनाउने हो।’
पार्टीभित्रको एकता कायम गर्न संवाद आवश्यक रहेको बताउँदै उनले संवादका लागि ढिलाइ नभएको पनि स्पष्ट पारिन्। यसअघि पनि विभिन्न चरणमा संवाद भएको र आगामी दिनमा पनि संवाद जारी रहने उनको भनाइ छ।
‘हामी संवादका लागि सँगसँगै हुनेछौं। संवाद गर्न ढिला भएको छैन। यसअघि पनि पटकपटक संवाद भएका छन् र आगामी दिनमा पनि हुनेछन्,’ उनले भनिन्।
महामन्त्री संग्रौलाले नेपाली कांग्रेसले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तअनुसार देशमा समृद्धि ल्याउने लक्ष्यसहित अघि बढ्नुपर्ने बताइन्।
पार्टीका कतिपय मतदाता असन्तुष्ट भएर टाढिएको उल्लेख गर्दै उनले उनीहरूलाई पुनः आकर्षित गर्ने गरी कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिन्।
‘आज हामीसँग कतिपय मतदाता रिसाएका छन्, टाढिएका छन्। उनीहरूलाई आकर्षित गर्ने गरी नेपाली कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भनिन्।
त्यसका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजान आवश्यक रहेको उनको भनाइ छ। पार्टी एकताको पहल सभापति थापाले गर्ने विश्वास व्यक्त गर्दै उनले त्यस प्रक्रियामा आफूहरू पनि साथमा रहने बताइन्।
संग्रौलाले पार्टीभित्रको एकता र रूपान्तरणलाई सँगसँगै अघि बढाउन सके कांग्रेसलाई बलियो बनाउन सकिने धारणा राखिन्। पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
