विराटनगर । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ विराटनगर र इटहरी बजारमा उपलब्ध भएको छ । हुन्डाईले नयाँ डिजाइन, आधुनिक प्रविधि र सुरक्षा सुविधासहित ल्याएको भेन्यू अब विराटनगर र इटहरीका ग्राहकले प्रत्यक्ष खरिद गर्न सक्ने भएका हुन् ।

हुन्डाईका विराटनगर र इटहरी क्षेत्रका प्रतिनिधि पर्शुराम सिम्खडाका अनुसार नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । उनका अनुसार नेपाली बजारमा नयाँ भेन्यू तीनवटा भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन् ।

नयाँ भेन्यूमा आकर्षक बाह्य डिजाइनसँगै ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निस राखिएको छ । यसले गाडीको बाहिरी स्वरूपलाई थप आकर्षक बनाएको कम्पनीको दाबी छ ।

गाडीको भित्री भागमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायत सुविधा उपलब्ध छन् ।

प्रदर्शनका लागि नयाँ भेन्यूमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । टर्बो पेट्रोल इन्जिनले थप प्रतिक्रियाशील र गतिशील ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।

सुरक्षातर्फ नयाँ भेन्यूमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) जस्ता सुविधा समावेश गरिएको छ ।

सिम्खडाका अनुसार नयाँ भेन्यू विराटनगर र इटहरीस्थित हुन्डाई शोरुमबाट उपलब्ध भइसकेको छ । विभिन्न भेरियन्ट र इन्जिन विकल्पका कारण ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार गाडी छनोट गर्न सक्ने उनले बताए ।