विराटनगर–विराटनगर भन्सार एजेन्ट संघले भन्सार विभागले प्रचलित कानूनबमोजिम इजाजत तथा अधिकार प्राप्त भन्सार जाँचपास प्रतिनिधि (भन्सार एजेन्ट) बाट मात्र मालवस्तुको जाँचपास गराउने र अनधिकृत व्यक्तिको संलग्नता नियन्त्रण गर्ने सम्बन्धमा जारी गरेको विभागीय निर्देशनप्रति पूर्ण समर्थन जनाएको छ ।


संघले भन्सार एजेन्ट महासंघ नेपालले अघि सारेको संस्थागत निर्णय तथा धारणाप्रति समेत पूर्ण ऐक्यबद्धता जनाउँदै कानून, विभागीय निर्देशन र पेशागत मर्यादाको पालना गर्न आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।


विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माका अनुसार भन्सार जाँचपास प्रतिनिधिको अधिकार र जिम्मेवारी कानूनले स्पष्ट रूपमा निर्धारण गरेको अवस्थामा अनधिकृत व्यक्तिको जाँचपास कार्यमा संलग्नता हुनु पेशागत मर्यादासँग मात्र सम्बन्धित विषय नभई भन्सार प्रणालीको पारदर्शिता, राजस्व प्रशासन, जवाफदेहिता र व्यापार सहजीकरणसँग प्रत्यक्ष जोडिएको विषय हो ।


विभागीय निर्देशन कार्यान्वयनका क्रममा स्थानीय भन्सार कार्यालयमा देखिन सक्ने व्यावहारिक समस्या, जाँचपासको गति, वस्तु परीक्षण तथा प्रवाह, सेवा प्रवाह, व्यापार सहजीकरण र राजस्व असुलीजस्ता विषयलाई तथ्यगत रूपमा अभिलेखीकरण गरी सम्बन्धित निकायसँग संस्थागत समन्वय र संवादमार्फत समाधान खोज्नुपर्ने भन्सार एजेन्ट महासंघका केन्द्रिय सचिव प्रविण जोशीले बताए  ।


कानूनको पूर्ण पालना, पेशागत मर्यादा, कानूनी पहिचान, उत्तरदायित्व र संस्थागत एकतालाई प्राथमिकता दिँदै आधुनिक, पारदर्शी र व्यवस्थित भन्सार प्रणाली निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको संघले जनाएको छ ।


भन्सार विभागको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न आग्रह गर्दै संघले महासंघ नेपालले अघि सारेको अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ ।