विराटनगर– विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ।
विराटनगरको गोग्राहा चोकस्थित कञ्चनजङ्घा बैंक्वेटमा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति मार्फत नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. बिजुकुमार थपलीयाले सफलता हासिल गर्न विद्यालयभन्दा बढी विद्यार्थीको आफ्नै मेहनत र लगन आवश्यक हुने बताउनुभयो। विद्यालयले गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने भए पनि त्यसको अधिकतम उपयोग गर्ने जिम्मेवारी विद्यार्थीकै हुने उहाँको भनाइ थियो ।
"तिर्खाएको मानिसलाई कुवासम्म पुर्याउन सकिन्छ, तर कति पानी पिउने भन्ने निर्णय उसकै हुन्छ," उहाँले भन्नुभयो, "आफूलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थीको इच्छाशक्ति, मेहनत र अनुशासनमा निर्भर हुन्छ।"
प्रा. डा. थपलीयाले एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरेको उल्लेख गर्दै त्यसको भरपुर सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। पछिल्लो समय सामाजिक सञ्जाल र एल्गोरिदमले युवापुस्तालाई अल्मल्याइरहेको उल्लेख गर्दै उहाँले क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन सफलता र सम्मान हासिल गर्ने लक्ष्य राख्न सुझाव दिनुभयो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि विद्यालयले कुनै पनि पक्षमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगतका शैक्षिक उपलब्धिले एभरेष्टका विद्यार्थीको उत्कृष्टता पुष्टि गरिसकेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले अहिलेको प्रतिस्पर्धा कुनै एक विद्यालय, सहर वा देशमा सीमित नरही विश्वव्यापी बनेको बताउँदै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो।
"हामीले विद्यार्थीलाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गरेका छौँ," उहाँले भन्नुभयो, "डिजिटल स्कुलको अवधारणा, एआईमा आधारित शिक्षण तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागिता त्यसकै उदाहरण हुन्।"
प्रिन्सिपल पुरीले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा यसको सही प्रयोग गर्न सक्ने दक्षता आवश्यक रहेको बताउँदै पाठ्यपुस्तकको ज्ञानमात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो। सम्बन्धित विषयबाहेक अन्य सीप र व्यवहारिक ज्ञान पनि आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा अभिभावकको उपस्थिति रहेको थियो।
यसैबीच विद्यालयमा एक दशकभन्दा बढी समयदेखि प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारी कृष्णकुमार ठाकुरलाई दीर्घ सेवाको कदरस्वरूप सम्मान गरिएको थियो।

