विराटनगर–सुनसरीको अमडुवामा करिब ६ सय बिघा क्षेत्रफलमा विशेष आर्थिक तथा औद्योगिक क्षेत्र (सेज) सहित औद्योगिक ग्राम विकास गर्ने तथा विराटनगर महानगरपालिका–३ मा औद्योगिक प्रदर्शनीस्थल निर्माणको प्रक्रिया अघि बढाउन निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच ऐतिहासिक सहमति भएको छ । 

राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेसहित नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूले शुक्रबार प्रस्तावित आयोजनास्थलको संयुक्त स्थलगत अवलोकन, छलफल तथा समीक्षा गरेपछि यो पहलले नयाँ मोड लिएको हो । अवलोकनमा तीनवटै व्यावसायिक संस्थाका नेतृत्व तथा विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपालको औद्योगिक इतिहासको मेरुदण्ड मानिने कोशी प्रदेशमा हालसम्म एउटा पनि पूर्ण सुविधासम्पन्न विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा नआउँदा निजी क्षेत्रले लामो समयदेखि गम्भीर समस्याहरू भोग्दै आएका छन्। व्यवस्थित सेजको अभावमा नयाँ उद्योग स्थापना गर्न चाहने उद्यमीहरूका लागि जग्गाको आकासिँदो मूल्य र उच्च प्रारम्भिक लागत सबैभन्दा ठूलो चुनौती बनेको छ। यसले गर्दा नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकिरहेका छैनन् । 

RSP mp meet cni koshi team

त्यस्तै, उद्योगहरूले छुट्टै प्रशासनिक झन्झट, एकीकृत एकद्वार सेवाको अभाव, र कमजोर भौतिक पूर्वाधार (सडक, ऊर्जा र ढल निकास) का कारण अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको छ। विराटनगरमा आधुनिक औद्योगिक प्रदर्शनी केन्द्र नहुँदा उद्योगीहरूले आफ्ना उत्पादनको बजार विस्तार र वैदेशिक खरिदकर्तासँग व्यावसायिक सम्बन्ध बनाउन हरेक वर्ष करोडौँ खर्च गरेर अस्थायी टेन्टको भर पर्नुपर्ने बाध्यता छ । आकर्षक र सुरक्षित सेज नहुँदा यस क्षेत्रमा आउने वैदेशिक लगानी (IFD) समेत प्रभावित भएको छ ।

विगत दुई दशकदेखि अमडुवाको साल्ट ट्रेडिङ कर्पोरेसनको स्वामित्वमा रहेको जग्गालाई औद्योगिक प्रयोजनमा ल्याउने बहस र पहल पटक–पटक भए पनि जग्गा हस्तान्तरण, मुआब्जा विवाद र नीतिगत अस्पष्टताका कारण यी आयोजनाहरू अघि बढ्न सकेका थिएनन् । यसपटक भने विगतका ढिलासुस्तीलाई चिर्दै निजी क्षेत्रले सरकारी मुख मात्र नताकी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा आयोजना विकास गर्ने ठोस निर्णय गरेको छ । यसका लागि नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको संयोजकत्वमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, प्रकाश मुण्दडा, अनिलकुमार साह र भोलेश्वर दुलाल सम्मिलित एक उच्चस्तरीय ’संयुक्त योजना निर्माण तथा कार्यान्वयन समिति’ गठन गरिएको छ ।


प्रस्तावित अमडुवा सेज र विराटनगरको आधुनिक प्रदर्शनी केन्द्र निर्माण भएमा स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार, र निर्यात प्रवद्र्धनमा ठूलो टेवा पुग्ने निष्कर्ष बैठकले निकालेको छ । यसबाट व्यापक मात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना भई युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन मिल्नेछ भने स्थानीय कच्चा पदार्थ र स्रोत–साधनको अधिकतम उपयोग हुनेछ । 

स्थलगत अवलोकनका क्रममा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले दुवै परियोजनालाई परिणाममुखी बनाउन र द्रुत गतिमा कार्यान्वयनमा लैजान संघीय सरकारसँग आवश्यक समन्वय, पहल र बलियो लबिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तीनवटै तहका सरकार र निजी क्षेत्रको यो संयुक्त प्रयास सफल भएमा कोशी प्रदेशको समग्र आर्थिक विकासमा कोशेढुङ्गा सावित हुनेछ ।