विराटनगर–नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले कोशी प्रदेशको औद्योगिक विकास, लगानी प्रवर्द्धन र आर्थिक समृद्धिका लागि कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको जनाएको छ। परिसंघले उद्योगी–व्यवसायीलाई कसुर प्रमाणित नभई पक्राउ गरी हिरासतमा राख्ने प्रवृत्तिले लगानीको वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै विधिको शासनलाई सुदृढ बनाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

संघीय सांसद यज्ञमणि न्यौपानेलाई बुझाइएको सुझावपत्रमा परिसंघका अध्यक्ष पवनकुमार सारडाले हालको राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व प्राप्त गरेको उल्लेख गर्दै आर्थिक तथा औद्योगिक विकासले अब गति लिने निजी क्षेत्रको अपेक्षा रहेको बताएका छन्।

पत्रमा नयाँ सरकारले कार्यकालको प्रारम्भमै सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूची, मार्गचित्र र बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। सरकारका सुधारका कार्यक्रमलाई परिसंघले स्वागत गरिसकेको उल्लेख गर्दै अब व्यवहारमै परिणाम देखिनुपर्ने धारणा व्यक्त गरिएको छ।

परिसंघले औद्योगिक तथा व्यावसायिक वातावरण सुधारका लागि वर्षौंदेखि विभिन्न मञ्चबाट उठाउँदै आएका असान्दर्भिक ऐन, नियम र प्रक्रियागत झन्झट हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति दिलाउनुपर्ने र लगानीकर्तामाथि कानुनी प्रक्रियाको पूर्ण पालना हुनुपर्ने माग दोहोर्‍याएको छ।

पत्रमा कसुर प्रमाणित नभई उद्योगी, व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिलाई पक्राउ गरी थुनामा राख्ने अभ्यासप्रति गम्भीर असहमति जनाइएको छ। दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा कुनै विमति नरहे पनि प्रमाणित नहुँदै गरिने कारबाहीले उद्योग, व्यापार र लगानीको वातावरणमा अन्योल सिर्जना गर्ने भएकाले त्यसतर्फ सरकार र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने परिसंघको धारणा छ। परिसंघले सुशासन, विधिको शासन र आर्थिक समृद्धिको अभियानमा निजी क्षेत्र सरकारसँग सहकार्य गर्न सदैव तयार रहेको प्रतिबद्धता पनि जनाएको छ।

सांसद न्यौपानेलाई सम्बोधन गरिएको पत्रमा कोशी प्रदेशका औद्योगिक सम्भावना, पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्रको विस्तारका विषयमा परिसंघले यसअघि प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष पनि आफ्ना सुझाव प्रस्तुत गरिसकेको उल्लेख गरिएको छ। कोशी प्रदेशबाट निर्वाचित सांसदका रूपमा प्रदेशको औद्योगिक विकास र निजी क्षेत्रका मुद्दामा सक्रिय समन्वय र पहलको अपेक्षा गर्दै परिसंघले सांसद न्यौपानेको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।