विराटनगर–मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, अनियमित विद्युत आपूर्ति र पटक–पटकको ट्रिपिङका कारण उद्योग व्यवसाय गम्भीर समस्यामा परेको भन्दै मोरङ उद्योग व्यापार संघले तत्काल समस्या समाधान गर्न माग गरेको छ।

वर्षायाममा समेत विद्युत आपूर्तिमा सुधार आउन नसकेको र बिना पूर्वसूचना पटक–पटक विद्युत अवरुद्ध हुँदा उद्योग सञ्चालनमा प्रतिकूल असर परेको संघले जनाएको छ। संघले नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति सहज भएको दाबी गरे पनि औद्योगिक क्षेत्रको वास्तविक अवस्था भने फरक रहेको उल्लेख गरेको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विद्युत आपूर्तिको अनिश्चितताले उद्योगी–व्यवसायीलाई थप संकटमा पारेको बताए। उनले औद्योगिक क्षेत्रका लागि नियमित र गुणस्तरीय विद्युत आपूर्ति आधारभूत आवश्यकता भए पनि पछिल्लो समय पटक–पटकको ट्रिपिङ र न्यून भोल्टेजका कारण उत्पादन प्रक्रिया नै प्रभावित भइरहेको बताए।

“उद्योग सञ्चालनका लागि विद्युत सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो। तर अहिले उद्योगहरूले पूर्वसूचनाबिना विद्युत अवरुद्ध हुने समस्या भोगिरहेका छन्। यसले उत्पादन मात्र होइन, उद्योगमा जडान भएका महँगा उपकरण र मेसिनरीमा समेत ठूलो क्षति पुर्‍याइरहेको छ,” राठीले भने।

उनले उद्योगीहरूले विद्युतको नियमित महसुल तिरिरहेको अवस्थामा गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउनु उनीहरूको अधिकार भएको बताए। “विद्युत आपूर्तिमा प्राविधिक समस्या आउन सक्छ, तर त्यसको जानकारी उद्योगीलाई समयमै दिनुपर्छ। अचानक विद्युत काटिँदा उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ,” उनले बताए।

संघका अनुसार मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरूले लामो समयदेखि अनिर्धारित विद्युत कटौती, ट्रिपिङ र न्यून भोल्टेजको समस्या भोग्दै आएका छन्। पछिल्लो समय वर्षायाममा समेत समस्या समाधान हुन नसक्दा उद्योगीहरू थप निराश बनेका छन्।

पटक–पटक आउने र जाने विद्युतका कारण उद्योगमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका अत्याधुनिक मेसिनरी, इलेक्ट्रोनिक प्यानल, कन्ट्रोल सिस्टम र सफ्टवेयर प्रणालीमा क्षति पुग्ने क्रम बढेको संघले जनाएको छ।

विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरू विद्युत अनियमितताबाट बढी प्रभावित भएका छन्। उत्पादन प्रक्रियाका क्रममा अचानक विद्युत अवरुद्ध हुँदा मेसिनभित्रै कच्चा पदार्थ जम्ने, डढ्ने र उत्पादन पूर्ण रूपमा नष्ट हुने अवस्था आउने उद्योगीहरूको भनाइ छ।

अध्यक्ष राठीका अनुसार विद्युत अवरोधका कारण उद्योगहरूले प्रत्यक्ष आर्थिक क्षति मात्र होइन, बजारमा आफ्नो विश्वसनीयता समेत गुमाउने जोखिम बढेको छ। “समयमै उत्पादन गर्न नसक्दा ग्राहकलाई सामान उपलब्ध गराउन समस्या हुन्छ। यसले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँछ र आयातित वस्तुले बजार कब्जा गर्ने अवस्था आउन सक्छ,” उनले भने।

विद्युत आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौँ श्रमिकसमेत प्रभावित भएका छन्। उद्योग बन्द हुँदा श्रमिक कामविहीन भएर बस्नुपर्ने अवस्था आउने तर उद्योगले भने पारिश्रमिक, बैंक ब्याज, प्रशासनिक खर्चलगायतका दायित्व निरन्तर वहन गर्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ।

संघले देशको औद्योगिक विकास र उत्पादन वृद्धिका लागि भरपर्दो विद्युत आपूर्ति आवश्यक रहेको उल्लेख गर्दै उद्योग क्षेत्रलाई अनिश्चितताको अवस्थामा राख्न नहुने बताएको छ।

“देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रलाई पूर्वसूचनाबिना अन्धकारमा राख्नु र उद्योगीहरूको समस्यालाई बेवास्ता गर्नु गम्भीर विषय हो,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायलाई मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ, ट्रिपिङ र न्यून भोल्टेजको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।

त्यस्तै, प्राविधिक कारणले विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएमा सम्बन्धित उद्योग व्यवसायीलाई पूर्वसूचना दिने व्यवस्था अनिवार्य गर्न पनि संघले माग गरेको छ।

अध्यक्ष राठीले औद्योगिक क्षेत्रको विद्युत समस्या दीर्घकालीन रूपमा समाधान गर्न विद्युत पूर्वाधारको क्षमता विस्तार, वितरण प्रणाली सुधार र उद्योगमैत्री सेवा प्रवाह आवश्यक रहेको बताए।

“उद्योगीहरू उत्पादन बढाउन र लगानी विस्तार गर्न चाहन्छन्। तर आधारभूत पूर्वाधारकै समस्या समाधान नभएसम्म उद्योग क्षेत्रले अपेक्षित गति लिन सक्दैन,” उनले भने।

मोरङ–सुनसरी औद्योगिक करिडोरमा ठूला तथा मझौला गरी सयौँ उद्योग सञ्चालनमा छन्। यो क्षेत्र नेपालको प्रमुख औद्योगिक केन्द्रमध्ये एक मानिन्छ। उद्योगीहरूले विद्युत आपूर्तिको समस्या समाधान नभए उत्पादन लागत बढ्ने, रोजगारी प्रभावित हुने र औद्योगिक वातावरण कमजोर बन्ने चेतावनी दिएका छन्।