विराटनगर । पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी र जिम्मेवार प्रयोगबारे पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा तीनदिने ‘मिडियामा एआईको प्रयोग सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ सुरु भएको छ।
विराट टाइम्स मिडिया प्रालिको आयोजनामा सुरु भएको तालिम असार २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ। तालिम विराटनगरस्थित रुबिज होटलमा आयोजना गरिएको छ।
तालिममा पत्रकारिता, समाचार लेखन, सम्पादन, सामग्री उत्पादन, तथ्य परीक्षण (फ्याक्ट चेक), डिजिटल कन्टेन्ट निर्माण तथा सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको सुरक्षित, नैतिक र प्रभावकारी प्रयोगका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। एआई प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूलाई नवीन प्रविधिसँग अभ्यस्त बनाउने तथा समाचार उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
मुख्य प्रशिक्षक जीवन भण्डारीले तीनै दिन एआई सम्बन्धि क्षमता अभिबृद्धिगर्न सहभागिलाई प्रशिक्षण दिने छन । दोश्रो दिन प्रशिक्षक भण्डारीले पत्रकारहरुलाई थमनेल बनाउन, व्यक्तीत्व पोष्टर बनाउन, अडियो, भिडीयो सम्पादनका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानिय संचारकर्मीहरु रेड एफएमका एस धाडेवाल र नेपाल टाइम्सका सम्पादक लिलावल्लभ घिमिरेले अनुभव आदान प्रदान गरेका थिए ।

तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई एआईका विभिन्न उपकरणको प्रयोग, तिनका अवसर र चुनौती तथा पत्रकारितामा एआईको जिम्मेवार उपयोगबारे व्यावहारिक ज्ञान प्रदान गरिने कार्यक्रम रहेको छ।
तालिमको आयोजना विराट टाइम्स मिडिया प्रालिले गरेको हो भने कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय ले सहयोग गरेको छ। प्रविधिमैत्री पत्रकारिता विकास गर्दै सञ्चार क्षेत्रलाई समयानुकूल बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

