विराटनगर । नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले भारतको सिलीगुडीमा आयोजित दुईदिने ‘सिलीगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघले सक्रिय सहभागिता जनाएको छ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) को संयुक्त आयोजनामा जेठ ३१ र असार १ गते सिलीगुडीमा सम्पन्न ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक संवाद कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको नेतृत्वमा कार्यकारिणी सदस्य विनीत सिंघानिया तथा उद्योगीहरू ऋषभ सोमानी र केतन साह सहभागी भएका थिए।

नेपाल र भारतका नीति–निर्माता, लगानीकर्ता, उद्योगी तथा विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा द्विपक्षीय हित, व्यापार तथा आर्थिक समृद्धिसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरिएको थियो। उद्घाटन सत्रमा विशेषगरी पर्यटन तथा नवीकरणीय ऊर्जा, ग्रामीण तथा सम्पदा संरक्षण पर्यटन, स्वास्थ्य सेवा समन्वय, शिक्षा, उद्यमशीलता र शैक्षिक साझेदारीका विषयमा विचार आदानप्रदान गरिएको थियो।
छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष साहले नेपाल र भारतबीच आर्थिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रहेको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै पर्यटन, नवीकरणीय ऊर्जा र स्वास्थ्य क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गरे। उनले ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक पहल तथा नीतिगत सहयोगका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
साहले नेपालमा लगानीको वातावरण क्रमशः सुधार हुँदै गएकाले भारतीय लगानीकर्ताका लागि औद्योगिक, शैक्षिक तथा पूर्वाधार विकासका क्षेत्रमा नेपाल आकर्षक गन्तव्य बन्न सक्ने धारणा राखे। उनले सीमापार व्यापार सहजीकरण, नीतिगत निरन्तरता तथा निजी क्षेत्रबीच नियमित संवादमार्फत मात्र व्यापारिक क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधान गर्न सकिनेमा जोड दिए।
उनले नेपाल, भुटान र बंगलादेशसँग जोडिएको रणनीतिक महत्वको सिलीगुडी कोरिडोरलाई आर्थिक अवसर, आपसी विश्वास र दीर्घकालीन सहयोगको बलियो सेतुका रूपमा विकास गर्न ‘सिलीगुडी डायलग २०२६’ ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा एआईडीआईएका संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील के.सी.ले उद्घाटन मन्तव्य व्यक्त गरेका थिए भने सीआईआई उत्तर बंगाल जोनल काउन्सिलका अध्यक्ष सतिश मित्रुकाले संस्थाको दृष्टिकोण प्रस्तुत गरेका थिए।
त्यसैगरी काउन्सिलका उपाध्यक्ष अमल मण्डल, नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुणाल कायल, ग्रामीण सम्पदा संरक्षण पर्यटनका विज्ञ सुप्रतिम (राज) बसु, किन्स हस्पिटलका संस्थापक सुमित सिंघल, आईईसी ग्रुप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आईआईएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. के.भी. राजेन्द्रन नायर तथा ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले विषयगत प्रस्तुति दिएका थिए। कार्यक्रमको समापन सत्रमा नेपालको प्रतिनिधिसभाका सांसद परशमणि गेलालले सम्बोधन गरेका थिए।

