विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश सातवटै प्रदेशमध्ये ‘उत्कृष्ट प्रदेश–२०२६’ सम्मानबाट पुरस्कृत भएको छ ।


नेपाल उद्योग परिसंघको २३औँ केन्द्रीय अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा उपप्रधान एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडालाई उत्कृष्ट प्रदेशको ट्रफी प्रदान गर्दै सम्मान गरेका हुन । 


नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे को अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष विनोद चौधरी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


अधिवेशनकै अवसरमा उत्पादनमूलक उद्योग स्थापना गरी निर्यात प्रवद्र्धन तथा मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका कोशी प्रदेशका तीन उद्योगलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने उद्योगहरूमा बाबा भेजिटेबल आयल इन्डस्ट्रिज प्रालि, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड तथा शिवम् प्लास्टिक इन्डस्ट्रिज रहेका छन् ।


उक्त उद्योगका तर्फबाट निर्देशकहरू प्रकाश मुन्दडा, शशीकान्त अग्रवाल र विशाल थापाले सम्मानपत्र ग्रहण गरेका थिए । 


अधिवेशनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको तर्फबाट अध्यक्ष पवनकुमार सारडाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, संस्थापक अध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, संस्थापक सदस्य नवीन रिजाल तथा महानिर्देशक विजयहरि शर्मालगायतको सहभागिता रहेको थियो ।