विराटनगर–कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारजस्ता उच्च मूल्यका कृषिवालीको उत्पादन वृद्धि तथा तेस्रो मुलुकमा निर्यात विस्तार गर्न निजी क्षेत्र, प्रदेश सरकार र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्य गर्ने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र अन्तर्राष्ट्रिय वित्त निगम–आइएफसीले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले गुणस्तर सुधार, प्रशोधन र बजार विस्तारमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले उच्च मूल्यका कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवद्र्धनमा प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । निजी क्षेत्रले स्पष्ट कार्ययोजना बनाए सरकार सहकार्यका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशिया क्षेत्रीय वरिष्ठ सञ्चालन अधिकृत विजयशेकरले नेपालबाट उत्पादित अलैंची, अदुवा र बेसार हाल मुख्य रूपमा भारत निर्यात भइरहेको उल्लेख गर्दै अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्न गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डमा ध्यान दिनुपर्ने बताए । उनले आइएफसी र महासंघ मिलेर उत्पादन वृद्धि तथा निर्यात विस्तारका कार्यक्रम अघि बढाउने जानकारी दिए ।

कार्यक्रममा आइएफसीका परामर्शदाता राजन शर्माले कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारको अवस्था तथा निर्यात बढाउन आवश्यक नीति, गुणस्तर सुधार र बजार रणनीतिबारे प्रस्तुतीकरण दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी तथा ताजा तरकारीजस्ता वस्तु विभिन्न देशमा निर्यात भइरहेको उल्लेख गर्दै अब उच्च मूल्य श्रृंखलामा पर्ने कृषिवालीको उत्पादन र निर्यात प्रवद्र्धनमा आइएफसीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मनोज यादव तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशाला अभाव रहेको, उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्ने तथा निजी क्षेत्रले बजारीकरणमा थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा अलैंची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य र केशव घिमिरेले आधुनिक प्रयोगशाला, ड्रायर तथा बजारीकरणको अभाव रहेको उल्लेख गर्दै भारतमा सीमित निर्यातलाई तेस्रो मुलुकसम्म विस्तार गर्न संघीय र प्रदेश सरकारले आवश्यक नीति तथा सहजीकरण गर्नुपर्ने बताए ।

त्यसैगरी युवा उद्यमी प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले महासंघको बलियो नेटवर्क प्रयोग गरेर तालिम, गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारी, कार्यसमिति सदस्य, कृषि क्षेत्रका सरकारी अधिकारी, अलैंची, अदुवा, बेसार, कफीलगायतका व्यवसायी तथा कृषकहरूको सहभागिता रहेको थियो ।