विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्वअध्यक्ष सुशय प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश तथा विराट व्यापार संघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठन सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य र साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य, समन्वय र साझा एजेण्डामा ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले नयाँ नेतृत्वले व्यवसायिक हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष राठीले बजारमा देखिएका चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापारको विस्तार तथा साना तथा मझौला व्यवसायको संरक्षणजस्ता विषय निजी क्षेत्रका साझा चासोका विषय बनेको उल्लेख गरे । यस्ता समस्याको समाधानका लागि निजी क्षेत्रका संस्थाहरूबीच अझ बलियो सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्वअध्यक्ष सुशय प्याकुरेलले उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रमसम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसँग सहजीकरण तथा व्यवसायीमैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको औद्योगिक तथा व्यावसायिक विकासका व्यापक सम्भावनाबारे चर्चा गर्दै प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रका संस्थाहरूबीच ऐक्यबद्धता आवश्यक रहेको बताए ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद कुमार अग्रवालले स्थानीय व्यवसायीहरूको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताए । उनले व्यवसायीका समस्यालाई प्रभावकारी रूपमा उठाउने तथा कर सचेतना र उपभोक्तामैत्री बजार निर्माणमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठन मोरङको दुवै संस्थासँग विगतदेखि नै सहकार्य र साझा मुद्दामा एकताबद्ध रूपमा आवाज उठाउने परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य हुने विश्वास व्यक्त गरे ।
संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्र केवल व्यापारिक गतिविधिमा सीमित नरही आर्थिक, सामाजिक तथा क्षेत्रीय विकासको प्रमुख साझेदारका रूपमा स्थापित भएको बताए । उनले निजी क्षेत्रका संस्थाहरूबीचको सहकार्यले समग्र उद्योग तथा व्यवसाय क्षेत्रलाई सकारात्मक दिशा प्रदान गर्ने धारणा राखे ।

