विराटनगर–सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको भन्दै नीजि क्षेत्रले त्यसको स्वागत गरेको छ । तर कार्यान्वयन र आउने बजेटमा समेटिने विषयहरुमा भने नीजि क्षेत्रले पहिलेको सरकारहरुको जस्तो नहोस भनेर सचेतता अपनाउन पनि सरकारलाई आग्रह गरेका छन ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अबको नयाँ आर्थिक बर्षमा अर्थतन्त्र चलायमान हुने आशा गर्न सकिने बताए । तर अघिल्लो सरकारहरुको जस्तो नियत नहोस भनेर सरकारलाई सचेत गराउदै उनले भने‘बजेटमा अझै मिहिन ढंगले समेटेर आओस र कार्यान्वयनमा दृढता पनि सरकारले ल्याओस ।’ 

राठीले युवाहरुका लागि स्टार्टअप पट्रोल संचालन गर्ने, सुचना प्रविधिलाई रणनीतिक उद्योगका रुपमा स्थापित गर्ने, युवा पलायनता रोक्न रिमोट वर्क व्यावस्था गर्ने कार्यक्रम निकै राम्रा रहेको उल्लेख गरे । उनले दश बर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्षमा नीजि क्षेत्रलाई समेत सरकारले साथमा लिएर अघि बढ्दा लक्ष हासिल हुने बताए । उद्यमी र मध्यम वर्गीयलाई ट्याक्स र आयकरमा सहुलियत दिने कुरा पनि राम्रो रहेको उल्लेख गर्दै उनले सीमा क्षेत्रको निगरानी २४ घण्टा ड्रोन र नाइटभिजन क्यामेराबाट गर्ने नीति पनि राम्रो रहेको बताए । यसले मुलुक भित्रका उद्योगहरु पारिबाट चोरी भएर आउने सामानको कारण उत्पादन घटौती गर्नु परिरहेको अवस्थाबाट राहत पाउने बताए । 

सरकारले साउनबाटै निर्माण कार्य सुुरु गर्ने र भुक्तानी दिन सुरु गर्ने नीतिले बजारमा जहिले पनि पुँजीको आभाव भइरहने प्रवृतिको अन्त्य हुने उल्लेख गरे । डिजिटल भुक्तानी लगायतको व्यवास्था पनि राम्रो रहेको उल्लेख गर्दै राठीले पहिलेका सरकार जस्तो फितलो कार्यान्वयनले काम नदिने भएकाले अबको सरकारले एग्रेसीप भएर अघि बढेमा लक्ष हासिल गर्न समस्या नरहेको उनले बताए । 

त्यस्तै नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष हासिल गर्न कर प्रणालीमा लचक नीति अवलम्बन गर्नु पर्ने बताए । उनले नीजि क्षेत्रले सरकारलाई दिदै आएको सुझाव अहिलेसम्म कार्यान्वयन नभएकाले अबको सरकारले कार्यान्वयन गर्नेमा आफूहरु आशावादी रहेको उल्लेख गरे । सारडाले सरकारले भ्याटलाई बहुदरमा लानु पर्ने र धेरै भन्सार र अन्तशुल्क लगाइएका बस्तुहरुको भन्सार दर र अन्तशुल्क घटाएमा मात्रै ति बस्तुहरु ग्रिन च्यानलबाट आउने र राजश्व बृद्धि हुने सुझाव सरकारलाई दिए । 

नीति तथा कार्यक्रम सुन्दा निकै गजब र परिवर्तनकारी लागेपनि यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने हेर्न बाकी रहेको प्रतिक्रिया उनले दिए । सरकारले खुद्रा योजना घटाउने र ठुला योजनामा लगानी गर्न लिएको निजी स्वागत योग्य रहेको बताए । तर पु्‌ँजीगत खर्च कम हुदा जहिले पनि नीजि क्षेत्र पीडामा रहने गरेको उल्लेख गर्दै अब त्यसको दीर्घकालिन हल बजेटमा आउनुपर्ने बताए । 

मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारको नीति तथा कार्यक्रम मोटामोटी राम्रो आएको बताए । पहिलेको सरकारका नीति तथा कार्यक्रम आउने तर बजेट पछाडी कार्यान्वयन शुन्य हुने प्रबृति यस पटक नदोहोरिए राम्रो हुने उल्लेख गरे । उनले सरकारले तीन तीन महिनामा नीति तथा कार्यक्रम अनुसार काम भएको छ की छैन भन्ने अनुगमन हुनुपर्ने र नभएको क्षेत्र र सुस्त भइरहेको क्षेत्रमा सरकारले हस्तक्षेपकारी नीति लिएमा मात्र लक्ष हासिल हुने बताए । 

असारे विकास पूर्ण रुपमा बन्द गर्दै सरकारले साउन १ गतेदेखी नै बजेट कार्यान्वयन गर्न लिएको नीति राम्रो भएको उल्लेख गर्दै उनले सरकारले लगातार नौं महिनासम्म काम हुने वातावरण बनाउनु पर्ने बताए । बर्षभरी काम नहुने र असारमा रातारात काम हुने प्रवृतिको अन्त्य हुनुपर्ने माग उनले राखे ।