विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा वैशाख २१ गते विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा हुने सम्मेलन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ भने आर्थिक, औद्योगिक, बैंकिङ, राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा समिटकी संयोजक गिरिजा शारडाले महिलाहरूको सीप विकास र क्षमता अभिवृद्धिलाई लक्षित गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार कोशी प्रदेशबाट करिब २५० जना सहभागी रहनेछन् ।

सीएनआईको महिला उद्यम समिति संयोजक रचना राठीले विराटनगरस्थित होटल मनास्लु इनमा विभिन्न सत्रमार्फत कार्यक्रम सञ्चालन हुने बताइन् । उनले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा स्टलसमेत रहने जानकारी दिइन ्।

सीएनआई कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले नेपाल विस्तारै परिवर्तनको चरणमा अघि बढिरहेको उल्लेख गर्दै विगतमा महिलालाई घर बाहिर निस्कन नदिने सोच रहे पनि अहिले महिला राष्ट्रपति, प्रधानमन्त्री तथा प्रधानन्यायाधीश बन्ने अवस्था सिर्जना भइसकेको बताए । उनले समाज परिवर्तनका लागि निरन्तर पहल आवश्यक हुने धारणा राखे ।

त्यसैगरी, सीएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडाले कार्यक्रममा बैंकिङ तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कार्यक्रममा अनिलकुमार साह, कृपा बस्नेत, राजेन्द्र सिंह, मौसमी श्रेष्ठ तथा उद्योग तथा कृषि मन्त्री इसराइल मन्सुरी लगायतको उपस्थिति रहनेछ । साथै, प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमती सविना काफ्ले र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले महिला उद्यमीहरूलाई व्यवसायमा अगाडि बढ्ने उपायबारे विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले महिलाद्वारा सञ्चालित उद्यमहरू व्यवस्थित र छिटो प्रगति गर्ने खालका हुने उल्लेख गर्दै महिलालाई उद्यमशीलतामा अघि बढाउन आवश्यक रहेको बताए । उनले सीएनआईले केन्द्रीय स्तरको कार्यक्रमलाई कोशी प्रदेशमा ल्याएको जानकारी दिए ।

“दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन” मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।