विराटनगर । संघीय संसद्मा पहिलो सम्बोधनमै नेपाली कांग्रेसकी सांसद डा. प्रमिला गच्छदारले सामाजिक न्याय, समावेशिता र विराटनगरको पूर्वाधार विकासका सवाललाई जोडदार रूपमा उठाएकी छन्। समानुपातिक सूचीबाट प्रतिनिधित्व गरे पनि लामो समय सामाजिक संस्था, पार्टी संगठन र समाजसेवामार्फत सक्रिय रहँदै आएकी गच्छदारले बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारसमक्ष चार महत्वपूर्ण माग राख्दै ध्यानाकर्षण गराएकी हुन्।

सदनमा बोल्दै उनले २००७ सालको जनक्रान्तिदेखि लोकतन्त्र र मानव अधिकारका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिन् भने जननायक बि.पि. कोइरालालाई स्मरण गर्दै नेपाली कांग्रेस र मतदाताप्रति आभार प्रकट गरिन्। त्यसलगत्तै उनले लोकतन्त्रको मूल मर्म अभिव्यक्ति स्वतन्त्रता भए पनि सामाजिक सञ्जालमा महिलामाथि बढ्दो हिंसा असह्य बन्दै गएको उल्लेख गर्दै यसको कडा नियमन गर्न सरकारसँग माग गरिन्।

उनले संविधानको धारा ४२ अनुसार थारू समुदायको ६.६ प्रतिशत समावेशिताको व्यवस्था अझै कार्यान्वयन नभएको विषयलाई पनि गम्भीर रूपमा उठाइन्। सर्वोच्च अदालतको आदेश हुँदाहुँदै पनि सम्बन्धित ऐनमा यो व्यवस्था समेटिन नसक्नु विभेदपूर्ण भएको भन्दै उनले प्रश्न गरिन्— “यो विभेद कहिलेसम्म ? निजामती सेवा विधेयक ल्याउन किन ढिलासुस्ती ?”

विकासको एजेन्डामा उनले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन र उचित मुआब्जासहित यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न माग गरिन्। यसले कोशी प्रदेशको पर्यटन, उद्योग र समग्र आर्थिक गतिविधिमा नयाँ गति दिने उनको भनाइ थियो।

त्यसैगरी, करिब ३० वर्षदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माणलाई पर्याप्त बजेट विनियोजनसहित शीघ्र सम्पन्न गर्न उनले सभामुखमार्फत सरकारसमक्ष आग्रह गरिन्।

संसद्मा पहिलो सम्बोधनमै गच्छदारले राष्ट्रिय मुद्दासँगै विराटनगरको दीर्घकालीन विकासका सवाललाई प्राथमिकताका साथ उठाएकी छन्। सामाजिक समावेशिता, महिला सुरक्षा र पूर्वाधार विकासलाई एउटै फ्रेममा राखेर उनले उठाएका मुद्दाले कोशी प्रदेशका मतदाता र कांग्रेस वृत्तमा सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ।

लामो समयदेखि विभिन्न सामाजिक संघसंस्था, नेपाली कांग्रेसका विभिन्न तह तथा आफ्नै सामाजिक संस्थामार्फत समाजसेवामा सक्रिय रहँदै आएकी गच्छदारको संसद्मा यो प्रस्तुति उनको राजनीतिक भूमिकाको थप परिपक्व संकेतका रूपमा हेरिएको छ। पहिलो सम्बोधनमै विराटनगरको विकासलाई स्पष्ट एजेन्डा बनाएर प्रस्तुत भएकाले आगामी दिनमा उनी कोशी प्रदेशका विकास मुद्दामा प्रभावकारी आवाज बन्न सक्ने अपेक्षा गरिएको छ।