विराटनगर । मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको २४ दिने सीप स्तरोन्नति तालिम सम्पन्न गरेको छ। मोरङ उद्योग ब्यापार संघ र ईन्स्योर परियोजनाको सहकार्य तथा प्राविधिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (HVAC) कम्पोनेन्ट तथा डिभाइस रिपेयरिङ विषयक तालिम मंगलबार समापन गरिएको हो। दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE – Enhanced Skills for Sustainable and Rewarding Employment) परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रम हो।


गत चैत १ गतेदेखि संघको समृद्धि हलमा सञ्चालन भएको ९६ घण्टे तालिममा मोरङ–सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योग, होटल तथा अस्पतालमा कार्यरत २० जना इलेक्ट्रिसियनको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य औद्योगिक क्षेत्रका प्राविधिक श्रमिकको सीप अभिवृद्धि गरी उत्पादन क्षमता र समग्र कार्यक्षमता सुदृढ बनाउनु रहेको संघले जनाएको छ।

tranning 4

समापन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले उद्योग तथा व्यवसाय क्षेत्रको आवश्यकता अनुरूप संघले विगतदेखि नै विभिन्न विषयगत सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले ईन्स्योर र हेल्भेटाससँगको सहकार्यमा सम्पन्न यस तालिमले उद्योग, होटल तथा अस्पताल क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। आगामी दिनमा उद्योग–व्यवसाय क्षेत्रको मागअनुसार थप मागमुखी तथा स्तरोन्नति तालिम सञ्चालन गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

tranning 3

तालिम संयोजक तथा संघका कार्यसमिति सदस्य अमित राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत जनशक्तिको सीप विकासलाई प्राथमिकतामा राख्दै निकट भविष्यमा अझ स्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । ईन्स्योर परियोजना सहजीकरण इकाइ, कोशी प्रदेशकी प्राविधिक संयोजक रेखा उप्रेतीले यस्ता तालिमले औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने बताइन्। संघसँगको सहकार्यमा आगामी दिनमा पनि थप तालिम सञ्चालन गरिने उनले स्पष्ट पारिन्।

tranning 2


प्रशिक्षार्थीहरूले तालिमलाई अत्यन्त प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। तालिमबाट आफ्नो प्राविधिक सीपमा उल्लेखनीय सुधार आएको उनीहरूको भनाइ छ। प्रविधिको तीव्र विकाससँगै समयानुकूल थप उन्नत तालिमको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनीहरूले आयोजकसँग आग्रह गरेका छन्।

tranning 5


तालिमको कुल लागतको ८० प्रतिशत हिस्सा ईन्स्योर/हेल्भेटास परियोजनाले र २० प्रतिशत मोरङ उद्योग व्यापार संघले व्यहोरेको थियो। समापन कार्यक्रममा संघका महासचिव संजयकुमार श्रेष्ठ, प्रशिक्षक किरणप्रसाद मण्डल, कार्यसमिति सदस्य, सचिवालयका कर्मचारी, ईन्स्योर परियोजनाका प्रतिनिधि, प्रशिक्षार्थी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।