विराटनगर–नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेशसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दा केन्द्रिय अध्यक्ष चन्द्र ढकालले अहिलेको सरकारले भ्रष्टचार नियन्त्रणका लागि सुरु गरेको धरपक्राउ सम्बन्धमा कुनै कुरा बोलेनन् । उनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउको बिषयमा समेत मन्तब्यमा कतै उल्लेख गरेनन् ।
उद्घाटन सत्रपछि पत्रकारले केही समय मागेर उद्योगी व्यावसायी पक्राउ परेको विषयमा नेउवामसंघको धारणा केहो भनेर प्रश्न गरे । पत्रकारको प्रश्नलाई उनले पन्साउदै‘आफ्नो जहाज काठमाडौंबाट उडिसकेकाले आफूलाई हतार’ भएको भन्दै उत्तर नै नदिई हिडे ।
पछिल्लो समय सरकारले सम्पत्ती शुद्धिकरणको पुरानो मुद्धामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पक्राउ परेको विषयमा अध्यक्ष ढकाल ‘मौन’ देखिए । प्रमुख अतिथिको मन्तब्यमा उनले तीन बर्षमा आफूले गरेको कामको तारिफ गरे । तर पछिल्लो घटनाका बारेमा कुनै प्रतिक्रिया दिएनन् । तर पूर्वका उद्योगी व्यवसायीले भने सरकारले अनुसन्धानका लागि पक्राउ गरेकाले तत्कालै ठिक वा बेठिक भन्ने भन्दापनि अनुसन्धान हेर्ने प्रतिक्रिया दिएका छन ।

सरकारले अनुसन्धानमा दोषी भेट्टाएर कारवाही गरे यसमा बोल्नुपर्ने अवस्थानै नआउने बताएका छन । तर उद्योगीका अनुसार उनले आफ्नो जगदम्बा स्टिलका लागि धेरैपटक अर्थमन्त्रीसंगको साँठगाँठमा जीआइ वायर, एमएस वायर र स्क्राबमा अन्तशुल्क लगाउने काम गरेका थिए । जसको कारण जगदम्बा बाहेकका स्टिल उद्योगहरुको उत्पादन भारत निकासी ठप्प भएको थियो भने मुलुकलाई अर्बौंको राजश्व घाटा लागेको थियो । पूर्वका उद्योगी व्यवसाय सरकारको निर्णयको विरुद्ध सडकमा समेत उत्रिएका थिए ।
उद्घाट सत्रमा एफएनसीसीआईका केन्द्रिय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो परिवर्तनको आन्दोलनबाट आएको दुई तिहाइको सरकारले थालेका कामहरुको प्रसंसा गर्दै निजी क्षेत्रलाई सहजहुने काममा सरकारले ल्याएको नीतिहरु प्रशंसनिय रहेको बताए । उनले सरकारी सेवामा लाइनमा होइन अनलाइनमा बसेर गर्ने, पहिलेको गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई अहिले ढोका ढोकामा सरकार’भन्ने नारा आएकाले आफूहरु घरको ढोकामा स्वागत गर्न सरकार कुरीरहेको बताए । उनले उद्योगी व्यवसायीले व्यावसाय गर्न सहजता खोजेको र कम लागतमा ब्यावसाय गर्न चाहेको बताए ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारा निरौंलाले व्यक्ती प्राभवित कानूनको अन्त्य हुनुपर्ने बताउदै प्रणालीगत रुपमा अघि बढ्नुपर्ने बताए । कृषि, उद्योग र पर्यटनसंग जोडिएर अघि बढेमा मात्र रोजगारीको अवसर सृजना हुने उनले बताए ।
नेउवामसंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाली अर्थतन्त्रको वर्तमान स्वरूप र निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरे ।
अध्यक्ष राउतले नेपाली अर्थतन्त्रमा देखिएको अत्यधिक विपे्रषण (रेमिट्यान्स) निर्भरतालाई मुख्य समस्याका रूपमा औंल्याए । “कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत अनुपात रेमिट्यान्समा निर्भर हुनु हाम्रो अर्थतन्त्रका लागि ठुलो चुनौती हो,” राउतले भने, “विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति र युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई प्रत्यक्ष मार परेको छ ।” उनले आन्तरिक उत्पादन बढाउन नसक्दा अर्थतन्त्र संकुचित हुने जोखिम औंल्याउँदै अबका दिनमा तीनै तहका सरकारले निजी क्षेत्रसँग मिलेर स्वदेशमै उत्पादनमूलक उद्योग विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेउवामसंघ कोशी प्रदेश अध्यक्षमा रिजाल र राउतको उम्मेदवारी
विराटनगर–नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नविन रिजाल बीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आइतबार विराटनगरमा सुरु भएको ८ औं प्रदेश सभाको बैठक सुचारु भएसँगै अध्यक्ष पदका लागि दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृत विकास थापाका अनुसार अध्यक्ष पदमा राउत र रिजालको उम्मेदवारी परेको हो ।
हाल कोशी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका राउतले २०७९ सालदेखि तीन वर्षे कार्यकाल पूरा गरिसकेका छन् । आगामी कार्यकालका लागि उनले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
उनकै कार्यकालमा मोरङको बुढीगंगा गाउँपालिका, जो विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको क्षेत्र हो, त्यहाँ महासंघ कोशी प्रदेश समितिको आफ्नै भवन निर्माण कार्य सुरु गरिएको छ । भवन निर्माणको काम सम्पन्न नहुँदासम्म निरन्तर नेतृत्व आवश्यक रहेको आवाज उद्योगी–व्यवसायी वृत्तबाट उठेपछि राउत दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएका हुन् ।

