विराटनगर–चैत २२ गते विराटनगरमा हुने नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनमा बर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रिय सदस्य नविन रिजाल बिच प्रतिष्पर्धा हुने भएको छ । दुबैले आ–आफ्‌नो प्यानल बनाएर निर्वाचनमा भाग लिदैछन । राउत तीन बर्ष अघि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । यो पटक दुबै विराटनगरकै हुनु र एकले अर्कालाई अघोषित रुपमा प्रतिष्पर्धी मान्दै आएका राउत र रिजाल बिचको प्रतिष्पर्धाले निर्वाचनलाई निकै फरक र रोचक बनाएको छ । 

किनकी दुबै उम्मेदवारले यस ८ बर्ष अघि २०७४ सालमा मोरङ ब्यापार संघमा दुबैको प्यानल विच प्रतिष्पर्धा भएको थियो । त्यतिबेला पवन सारडाको नेतृत्वको प्यानलमा रिजाल सक्रिय थिए भने राउत आफैंले आफ्‌नो प्यानलको नेतृत्व गरेका थिए । ८ बर्ष पछि फेरि नेउवासंघ कोशीमा दुबैले अध्यक्षको दावि प्रस्तुत गर्दै प्यानलनै खडा गरेर निर्वाचनको प्रचार प्रसारमा तिब्रता दिएका छन । जसको कारण यो पटकको निर्वाचन अन्य अघिल्ला निर्वाचन भन्दा निकै चाखलाग्दो बनेको छ । 

मोरङ ब्यापार संघको कार्यकारणी समितिको निर्वाचनमा राउतको प्यानल पराजित भएपनि नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्ष बन्दै अध्यक्षसम्मको यात्रा तय गर्दा उनले जिल्लाका उद्योग बाणिज्य संघहरुलाई जोड्ने काम गरे भने जिल्लाका संघहरुलाई चलायमान बनाउने काम गरे । कोरोना कहरको बेला राउतले ग्रामीण क्षेत्रमा अक्सिजन र औषधि पठाउने काममा तल्लीन भए । अहिले बुढीगंगा गाउँ पालिकामा नेवाउसंघ कोशीको भवन निर्माणधिन छ । राउत निर्माण समितिका संयोजक हुन । 

त्यस्तै रिजालले बैंक ब्याज घटाउन सडक आन्दोलन गरे भने मोरङ ब्यापार संघको अध्यक्ष भएको सरकारले फलाम उद्योगहरुलाई लगाएको अतिरिक्त भन्सार महसुल र अन्तशुल्क खारेजीको माग गर्दै सडक आन्दोलन गरेर ब्याजदर घटाउने र अन्तशुल्क फिर्ता हुने गरि नियम संसोधन गर्न सरकारलाई बाध्य बनाए । रिजालकै नेतृत्वमा जोगवनी नजिकको मिरगंजको पुल भासिएपछि बन्द भएको आयात निर्यातलाई नयाँ पुल निर्माण तत्काल संचालन गर्न पहल गरि जोगवनी र विराटनगर नाकाबाट आयात निर्यात खुलाउन सफल भए । रिजालको पाइप र पानीटंकी उद्योग छन । भने रिजालको ग्यास पनि पूर्वमा निकै लोकप्रिय छ । 

अहिले रिजाल र राउत दुबै आफ्‌नो पक्षमा मतदातालाई रिझाउन जिल्ला दौडाहामा छन । दुबै उम्मेदवार कोशी प्रदेशको औद्योगिक र ब्यापारिक क्षेत्रमा संघर्ष गरेर स्थापित भएका ब्यक्तीत्वहरु हुन । समाज सेवामा दुबैको अग्रसरता उतिकै छ । आफूले नेतृत्व गरेको संघ मार्फत दुबैले उद्योगी र ब्यावसायीका हितमा काम गरेको गर्विलो विगत छ । 

सिमेन्ट, फुटवेयर, र निर्माणको क्षेत्रमा अग्रणी रहेको शिवम अर्गनाइजेशनका अध्यक्ष समेत रहेका राउत राजेन्द्र राई मुख्यमन्त्री हुदा प्रदेश सरकारको आर्थिक सल्लाहाकार समेत रहि सकेको छन । पुनः अध्यक्षको पदमा तपाईले निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्नु भएको हो भन्ने जिज्ञासामा राउतले भाडाको घरबाट महासंघलाई आफ्‌नै भवनमा सारेर मात्र नेतृत्व छाड्न साथीहरुको दबाब रहेकाले आफूले एक पटक अध्यक्ष पदमा दोहोर्‍याउने निर्णय गरेको बताए । स्थानिय उवासंघका साथीहरुको सहयोगमा ८४ लाखमा भवन निर्माण भइरहेकाले त्यो अधुरो रहने भएकाले आफूले एक कार्यकालका लागि उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । यहाँ निर्वाचित भएपछि कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने साथीहरुलाई एक ढिक्का भएर सघाउने समेत उनले घोषणा गरे । उवासंघको नेतृत्व तीन बर्षको हुन्छ । 

कोशी प्रदेशका १४ जिल्लाका उवासंघ, ३८ जिल्ला नगर र बस्तुगतसंस्थाहरुको निर्वाचनमा सहभागिता रहन्छ । अध्यक्ष, तीन उपाध्यक्ष, कोषाध्यक्ष र ९ जना सदस्य गरि १४ सदस्यीय कार्यसमितिको निर्वाचन हुन्छ ।  

रिजालले कोरोनाको महामारीको बेला कोभिड अस्पताल स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । जीआइ वायरमा सरकारले गरेको विभेदपूर्ण कर नीति र बैंकहरुको चर्को ब्याजदरको विरुद्धमा गरिएको सडक आन्दोलनको अगुवाइ समेत रिजालले गरेका थिए । रिजालले आफूले जहिले पनि उद्योगी ब्यावसायी साथीहरुको हितमा सडकमा पटक पटक उत्रिएर मागहरु सामु सरकारलाई झुक्न बाध्य बनाएको र अब प्रदेशका साथीहरुको हितका निम्ति आफुले थप मागहरुमा लड्ने गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । उनले प्यानलमै आफू लगायत साथीहरुको उम्मेदवारी रहने उल्लेख गरे । उनले भने‘नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको भवन अझ राम्रो  र चाडै निमार्ण सम्पन्न गर्न आफ्‌नो नेतृत्वले भरमार प्रयास गर्नेछ ।’

प्रदेश अध्यक्ष जहाँबाट निर्वाचित भएपनि आफ्‌नै स्थानमा सम्पर्क सचवालय राखेर नेतृत्व संचालन गर्न पाउने व्यवस्था गराउने, उवासंघहरुमा विकासमुखी कार्यक्रमका लागि सरकारसंग बजेट व्यवस्थ ागर्न दबाबमुलक कार्यक्रम गर्ने, नेउवा महासंघ कोशी प्रदेशका कार्यक्रमहरु बजेट सहित अन्य जिल्ला नगरमा पनि संचालन गर्ने व्यावस्था मिलाउने, नयाँ सरकारसंग समन्वय गरि निजी क्षेत्रमैत्री नीति सुधार नभएसम्म दबाब मुलक कार्यक्रम गर्ने लगायतका ऐजेन्डा लिएर रिजाल चुनावी मैदानमा उत्रिएका छन ।