विराटनगर–कोशी प्रदेश सरकारले आगामी ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बुधबार एक कार्यक्रमबीच यी तीनवटा महत्वपूर्ण पहिचान सार्वजनिक गरेका हुन् ।

पर्यटन वर्षको नारा ‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ तय गरिएको छ। यसैगरी, पर्यटन वर्षको मस्कट नमस्कार गरिरहेको रेडपाण्डा छानिएको छ भने लोगो नेपालको राष्ट्रिय झण्डाको निलो, सेतो र रातो घेराभित्र तयार गरिएको छ। लोगोमा माथिल्लो भागमा हिमाल, त्यसको तल पहाडी क्षेत्र, र त्यसको तल अर्नासँगै बगिरहेको नदीसहितको तराई–मधेस क्षेत्र समावेश गरिएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गरी नारा, लोगो र मस्कट निर्माणका लागि प्रतिस्पर्धा आह्वान गरेको थियो। उत्कृष्ट डिजाइन तयार पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भए पनि विजेताको नाम भने हाल सार्वजनिक गरिएको छैन। मन्त्रालयले पुरस्कार प्रदान गर्ने दिन मात्रै विजेताको नाम खुलाउने तयारी गरेको जनाएको छ।

मन्त्री मण्डलले कोशी प्रदेश सरकारको समृद्धिको आधार नै पर्यटन भएकाले यस क्षेत्रको पर्यटनलाई माथि उकास्न सरकार सरोकारवालाहरु सित हातेमालो गरेर अघि बढीरहेको उल्लेख गरे । कोशी प्रदेशको पहिलो प्राथमिकताका पर्यटक भनेका स्थलमार्गबाट आउने भारतीय पर्यटकनै रहेकाले त्यसैमा केन्द्रित भएर पर्यटनको पूर्वाधार विकासमा सरकार लागेको मन्त्री मण्डलले बताए । उनले भने‘हामीले धार्मीक पर्यटनसंगै प्रकृतिक सौन्दर्यलाई पनि बेच्नुपर्छ ।’

‘यस प्रदेशमा धर्तिको पहिलो भगवान मानिने बराह क्षेत्र, हलेसी महादेव, पाथिभरा र रामधुनीजस्ता चार प्रमुख धार्मिक स्थल छन्,’ उनले भने, ‘धार्मिक पर्यटनलाई मात्रै व्यवस्थित गर्न सक्दा पनि पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुन सक्छ।’ साथै, प्रदेशमा संसारकै अग्ला हिमालहरू, लालीगुराँसको वन, दुर्लभ वन्यजन्तु, चराहरूको लागि प्रख्यात कोशी टप्पु, विविध सांस्कृतिक सम्पदा, र मनोरम प्राकृतिक दृश्य पर्यटनको प्रमुख आकर्षण रहेको उनले बताए।

कोशी प्रदेश सरकारले हवाईमार्गभन्दा स्थलमार्गमार्फत आउने पर्यटकलाई प्राथमिकता दिने नीति लिएको छ। यसै रणनीतिअन्तर्गत पर्यटन वर्ष २०८२ घोषणा गरी यसको औपचारिक शुभारम्भ गर्न लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २७ गते लालिगुराँसको राजधानी बसन्तपुरमा पर्यटन वर्ष उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

पर्यटन वर्ष सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी आवश्यक पूर्वाधार विकासका काम अघि बढाइएको छ। पर्यटन क्षेत्रका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै यो वर्षलाई आधार वर्षका रूपमा अघि बढाउने उपसंयोजक कृष्ण साहले बताए। ‘प्रदेशमा आउने पर्यटकको कुनै आधिकारिक तथ्यांक नरहेको हुँदा तथ्यांक संकलनका लागि संयन्त्र निर्माण गर्ने योजना बनाइएको छ,’ उनले भने।

अर्का उपसंयोजक भविस श्रेष्ठले पर्यटन क्षेत्रको ब्रान्डिङ र बजारीकरणमा जोड दिइने बताए। उनले प्रदेशमा हाल चारवटा पाँचतारे होटल सञ्चालनमा रहेको, थप चारवटा खोल्ने तयारी भइरहेको, र १०४ वटा होमस्टे दर्ता भई सञ्चालनमा रहेको जानकारी दिए। उनले पर्यटन वर्ष सफल पार्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

मन्त्रालयका सचिव विशाल घिमिरेले नारा, लोगो, मस्कट तथा पर्यटन वर्षको अन्य गतिविधिबारे जानकारी गराएका थिए। प्रदेश सरकारको योजनाबद्ध प्रयासले कोशी प्रदेशको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।