विराटनगर–गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा टाँसीएको अन्तशूल्क स्टीकर संकलन गरेर त्यस्ता उद्योगलाई विक्री गर्दै आएका एक व्यापारीलाई प्रहरीले मोरङको कर्सिया बजारवाट नियन्त्रणमा लिएको छ ।

ति व्याक्तिले गुट्खा र सुर्तीजन्य वस्तु विक्री गर्ने किराना पसलवाट प्रति गोटो ३ रुपैयाँमा त्यस्ता स्टीकर खरिद गरेर गुट्खा उत्पादन गर्ने उद्योगलाई प्रति गोटा ७ रुपैयाँमा विक्री गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

मोरङको धनपालथान ४ कर्सिया बजारको निराला पसलका सञ्चालक समेत रहेका सुनिलकुमार राजबंशीलाई प्रहरीले ३ हजार १ सय ४० थान अन्तशूल्क स्टीकर सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले वताए ।

उनले गुट्खा र सुतीजन्य वस्तुको प्याकेटमा एक पटक प्रयोग गरिएको अन्तशूल्क स्टीकर उक्काएर जम्मा गर्ने अनि त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । यो कार्यमा गिरोहनै संलग्न रहेको प्रहरीको आशंका छ ।

गिरोहले हरेक वजारका किराना पसलवाट स्टीकर संकलन गरेर गुट्खा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई विक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । एक पटक प्रयोग गरिएका स्टीकर उद्योगले पुन प्रयोग गरेर अन्तशूल्क ठगी गर्दै आएको प्रहरीको बुझाई छ ।