विराटचोक(मोरङ)–पछिल्लो समय पार्टी भित्र अनुशासनहीनता बढेको कारण अनुशासन कायम गराउन प्रभावकारी पार्टी प्रशिक्षण र समय समयमा हुनुपर्ने सम्मेलन र अधिवेशन अद्यावधिक हुनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन । 


उनले पार्टी भित्र नेतृत्वलाई नै नमान्ने र अस्विकार गर्ने गलत प्रबृतिको हावि हुदै गएकाले पार्टी भित्र कडा अनुशाशन कायम गर्नुपर्ने अवस्था रहेको बताए । गाउँ तहदेखी केन्द्रिय तहसम्म पार्टी विधानले व्यवास्था गरेअनुरुप संचालन हुन सके र अनुशासन उल्लंघन गर्नेहरुमाथि पार्टीले कारवाही गर्ने कन्जुस्याँइ नगर्ने परम्परा स्थापित गरेपछि मात्रै पार्टी सहि लिकमा आउने लिम्बुले उल्लेख गरे । 


नेपाली कांग्रेस मोरङको बिहिबार हुने पहिलो जिल्ला सम्मेलनको तयारी पुरा भएको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मलेलन उनले पार्टीको विधानले एउटै ब्यक्तीलाई सधैं केन्द्रिय सदस्य बनाइरहने, महासमिति र महाधिवेशन प्रतिनिधि पनि उनीहरु नै हुने परम्परागत ब्यावस्थालाई बदल्न आवश्यक रहेको र त्यो विधान संसोधबाट मात्र सम्भव रहेको उल्लेख गरे । उनले यूवाहरुलाई पार्टीमा उपयुक्त स्थान दिन पनि नेपाली कांग्रेसको विधान संसोधन हुन आवश्यक रहेको बताए । 

पार्टी संचालनका लागि उठाइदै आएको लेबी अनियमितता भएको र पार्टी संचालनका लागि स्थायी कोष नुहदा समस्या भएको भन्दै अब नेपाली कांग्रेस मोरङले लेबीलाई अनिवार्य गर्ने र मुद्धतीमा स्थायी कोष राखेर त्यसको ब्याजबाट पार्टीका गतिविधि गरिने सभापति लिम्बुले बताए । स्थायी कोष नहुदा पार्टीको कार्यक्रम गर्नुपर्दा जहिले पनि उद्योगी, ब्यापारी र ब्यावसायीसंग चन्दा माग्नुपर्ने परम्परालाई यो पटक अन्त्य गरिएको बताए । उनले भने‘यो पटक हामीले बाहिर चन्दा उठाएका छैनौं पार्टीको आन्तरिक नेतृत्वबाट नै खर्चको जोहो गरेका छौैं । लिम्बुका अनुसार पार्टी जिल्ला सम्मेलनका लागि १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

पार्टीका बेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउने पार्टी भित्र नै छुटै स्वरोजगार कोष निर्माण गर्ने, नियमित कार्यक्रम गर्ने, पार्टी भित्रको सांस्कृती समितिलाई सक्रिय बनाउने, जनप्रतिनिधि र पार्टी पदाधिकारी विचको तिक्तता मेटाउने गरि कार्यक्रम ल्याउन लागेको जानकारी दिए । 


नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलनमा जिल्लाका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुनछन । त्यस्तै प्रशिक्षण, अन्तर जिल्ला भ्रमण, सांस्कृतिक अभियानलगायतका प्रस्तावमाथि बन्दसत्रमा छलफल हुनेछन । सम्मेलन सफल बनाउन सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको छ ।

 

त्यस्तै सम्मेलनलाई भव्य बनाउन मञ्च व्यवस्थापन, स्वयमसेवक परिचाजन, अतिथि सत्कार, प्रचारप्रसारलगायतका उपसमिति गठन गरिएको सचिव ललित श्रेष्ठले बताए । सम्मेलनमा राजनैतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र मोरङ कांग्रेसमा ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेको अर्का सचिव मोदराज घिमिरेले जानकारी दिए ।


पत्रकार सम्मेलनमा उपसभापति भक्तिनाथ माझी, सचिवद्वय ललित श्रेष्ठ, मोदराज घिमिरे, कोषाध्यक्ष रञ्जु अधिकारी, सहसचिवद्वय भुवनेश्वर मण्डल, सञ्जय मण्डललगायतको सहभागिता रहेको थियो ।