विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मोतीराम स्पोर्टिङ क्लबले जितेको छ ।  


मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाए ।

 

खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले एक फर्काए । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम्बूले गोल गर्दै जित निकाले । खेलको म्यान अफ द म्याच टेकबहादुर लिम्बूले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । 


प्रतियोगिताको विजेता मोतीरामले नगद ५० हजार रुपैयाँ र उपविजेता उर्लाबारीले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र खेल संयोज धनबहादुर लामालगायतले पुरस्कार वितरण गरे । 


प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको थियो ।