विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले आपसी कटुता र बैमनस्यको अन्त्य गरेर अगाडि नबढेसम्म आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले जित हासिल गर्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अर्यालले महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर पार्टी एकतामा लाग्नुपर्नेमा जोड दिए ।


पार्टीभित्र सबैलाई अवसर प्रदान गर्नुपर्ने बताउँदै अर्यालले महाधिवेशनमा भएका प्रतिस्पर्धालाई भुलेर आसन्न निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताए ।  पार्टीमा सबैको अस्तित्व र सबैको सम्मान हुनुपर्नेमा उनले जोड दिए । गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ता नमिलेसम्म कांग्रेस बलियो नहुने अर्यालले प्रस्ट पारे । उनले अब मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा स्पष्ट एजेण्डा लिएर कांग्रेस अगाडि बढ्ने उद्घोष गरे । 


मुलुकको आर्थिक रुपान्तरणका लागि पार्टीले स्पष्ट दृष्टिकोण र नीति लिएर जनतामाझ छिट्टै जाने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा अर्यालले गिरिजाप्रसाद कोइरालापछि कोइराला निवासले आफूलाई पाखा पार्दै लगेको गुनासो पोखे ।