काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।