विराटनगर - विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्टरोगी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार मोरङमा ११६ जना कुष्टरोगी मध्ये विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना कुष्टरोगी रहेका छन्् ।

सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर मोरङमा रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मङ्गलबार स्वास्थ्य कार्यालय मोरङ र द लेप्रोसी मिसन नेपालले आयोजना गरेको कार्यक्रमा अधिकृत राजवंशीले मोरङसहित तराईका २० जिल्लामा कुष्टरोग अझै रहेको बताए ।

आर्थिक वर्ष २०७६–०७७  को प्रथम चौमासिकमा मोरङमा ११ जना मात्रै कुष्टरोगी थिए । आर्थिक वर्ष २०७८–०७९ मा रोगीको सङ्ख्या   एक सय ३१ पुगेको थियो । ती मध्ये १५ जना निको भएका छन् ।  राजवंशीका अनुसार मोरङको पथरीमा ४, रंगेलीमा ८, रतुवामाईमा ८, सुनबर्षीमा ६, उर्लाबारीमा ६, सुन्दरहरैंचामा ७, धनपालथानमा ६, जहदामा ४, कानेपोखरीमा ५, कटहरीमा ४ जना कुष्ठरोगी छन् । बुढीगंगा र  ग्रामथानमा १– १ जना छन् ।

मिक्लाजुङ, लेटाङ, केराबारीमा कुष्टरोगी भेटिएका छैनन् । संक्रमण भईसकेपछि पनि समयमै उपचार नगराउने र रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोगीको सङ्ख्या बढेदो क्रममा रहेको राजवंशीले बताए ।  उनका अनुसार रोगले छाला र स्नायुकामा बढी आक्रमण गर्छ ।

कुष्टरोग हुँदा छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरिरमा खटिरा हुनेलगायतका लक्षणहरु देखा पर्छन् ।यसको न्युनीकरणका लागि रोग लुकाउनुको साटो पत्ता लाग्ने बित्तिकै उपचार गराउने बानीको विकास गर्नुपर्ने स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीको भनाई छ ।