विराटनगर- कृषकलाई वितरण गरिएका बाख्रा खरिद गर्ने कम्पनीलाई बेलबारी नगरपालिकाले कागजात पेस गर्न निर्देशन दिएको छ ।
सम्झौता अनुसारको बोयर बोका अष्ट्रेलियन फुल व्रिड  भएको पुष्टि गर्ने कागजात पेस गर्न अन्यथा नगरपालिकाले संझौता रद्ध गरेर कानुनी बाटो अपनाउने चेतावनी दिएको छ ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मिति २०७८ जेठ १५ गते वितरण गरिएका बाख्राका विषयमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका गुनासाप्रति नगरपालिकाको ध्यान आकृष्ट भएको  बताइएको  छ।  विज्ञप्तिमा ग्रो अर्ग्यानिक कृषि प्रा.लि सङ्खुवासभालाई बोयर बोका अष्ट्रेलियन फुल व्रिड  भएको पुष्टि गर्ने कागजात पेस गर्न भनिएको छ ।नगरपालिकाद्वारा यो विषयमा चासो राख्ने सचेत नागरिक, शुभचिन्तक, पत्रकारप्रति आभारसमेत व्यक्त गरिएको छ ।

बेलबारी नगरपालिकाले गत शनिवार मात्रै अस्ट्रेलियन बोयर भनेर किसानलाई ९२ वटा बाख्रा वितरण गरेको थियो । वितरण गरिएको भोलिपल्टै वितरण प्रक्रियामा कमजोरी भएको, अस्ट्रेलियन भनेर अन्य जातको बोयर बाख्रा ल्याएको भनेर सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा व्यापक विरोध भएको थियो ।जनस्तरबाट  विरोध आए पछि नगरपालिकाले संझौता गर्ने कम्पनीलाई निकासा रोकेर छानविन गरिरहेको छ ।

विज्ञप्ति निकालेर नगरपालिकाले कमजोरी देखिए सम्झौता गर्ने कम्पनीलाई कारबाही गर्ने भने पनि केहीले भने यो प्रक्रियामा उक्त अग्र्यानिक कृषि प्रा.लि मात्र नभएर नगरपालिकासमेत दोषी भएको आरोप लगाउँदै त्यसकोसमेत अनुगमन हुनुपर्ने बताउँदै आएका छन् ।