विराटनगर- विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो । चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भएपनि चुनौतिपूर्ण रहेको बताए ।
उनले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवस्यक रहेको बताए । उनले भने‘ स्वास्थ्य वीमा पनि लक्षित वर्गमा पुग्न सकेन ।’ स्वास्थ्य वीमाको लाभ हुनेखानेहरुले मात्र लिईरहेको बताए । उनले मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिए । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
चेम्वर अफ कमर्श विराटनगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिको एप्स निर्माण गर्नुपर्नेमा जोड दिए। उनले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रम राम्रो रहेको उनको भनाईथियो । विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताईन ।
राईले लक्षित वर्गले थाहा पाउने गरि कार्यक्रम सञ्चालन हुने जानकारी दिईन । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताईन गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उनको भनाई छ ।

