विराटनगर-  विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिको ‘सेटिङ’मा हुने गरेको राजस्व छली सम्बन्धी अनुसन्धान नै शंकाको घेरामा परेको छ । विराटनगरबाट प्रहरीले राजस्व छलीमा प्रयोग गरिएका दुईवटा ट्याक्टर र चालकलाई सामानसहित पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो ।

तर राजस्व कार्यालयका कर्मचारी नै त्यसमा संलग्नलाई बचाउने चलखेलमा लागेपछि अनुसन्धान शंकास्पद बनेर गएको हो । भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्दा प्रष्टसँग राजस्व छली गरेको प्रमाण फेला परे पनि भन्सार कार्यालयका कर्मचारी र एजेन्टलाई कारबाहीका लागि छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको छैन । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा पक्राउ गरिएका ट्याक्टरका चालकलाई पनि छाडिसकिएको पाइएको छ । स्रोतका अनुसार तस्करीको सामानसहित पक्राउ परेकालाई छाडिनुले प्रमाण नष्ट गर्ने मौका मिलेको प्रष्ट हुन्छ ।

कागजी प्रक्रिया पूरा गरेजस्तो देखाएर निर्वाध रुपमा भन्सारबाटै हुने तस्करी एवं राजस्व चुहावटमा संलग्नलाई जोगाउन कुनै चलखेल नभएको राजस्व कार्यालय इटहरीका प्रमुख दीपक खड्काले बताउनु भयो । तस्करी एवं राजस्व छलीका सामान रहेको आशंकामा प्रहरीले वैशाख ११ गते साँझ विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट ‘फुड सप्लिमेन्ट’का सामाग्री लोड गरिएको बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टरलाई चालक विनोद यादवसहित नियन्त्रणमा लिएको थियो । त्यसको केही बेरमै विराटनगर–१६ रानीबाट अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टरलाई चालक पप्पु यादवसहित प्रहरीले पक्राउ गर्यो । उक्त ट्याक्टरमा भने हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यवसायिक फार्मका सामाग्री थिए ।

विराटनगर भन्सार कार्यालयबाट जाँचपासको प्रक्रिया पूरा गरेर गन्तव्यतर्फ लागेका ट्याक्टरलाई प्रज्ञापन–पत्रमा तोकिएको भन्दा बढी परिणामको सामान रहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाएको थियो । राजस्वले अनुसन्धान गर्ने क्रममा प्रज्ञापन–पत्रमा उल्लेख भएको भन्दा बढी परिणामको सामान र अरु नै सामग्री राखेर ल्याइएको खुलेको छ । एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्रयाउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको स्रोतले बतायो । राजस्व प्रमुख खड्काले हवनको सामान रहेको भनिएको र एजेन्ट चेतनाथ पौडेलले जाँचपास गराएको ट्याक्टरमा सिलाई मेसिन, बिजुलीको स्वीच, ट्याक्टरका पार्टसहरु, गमलगायत फेला परेको बताए । उनका अनुसार शारीरिक क्षमता बढाउने ‘फुड सप्लिमेन्ट’का सामाग्री रहेको र एजेन्टका प्रतिनिधि अरविन्द ठाकुरले जाँचपास गराएको अर्को ट्याक्टरमा भने प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा अरु सामान पनि फेला पर्यो ।

मारुती ट्रेड कन्सर्न विराटनगरको १० वटा ‘आइटम’को मात्रै प्रज्ञापन–पत्र रहेको ट्याक्टरमा १४ प्रकारका सामान भेटिएको खड्काले बताए । प्रज्ञापन–पत्रमा उल्लेख नै नभएका योग प्रो प्रोटिन पावर, करोटेन प्लस प्रोटिन पावर, केबीक्यू ट्याब्लेट फुड सप्लिमेन्ट र कडिवोन ट्याब्लेट फुड सप्लिमेन्टसमेतका सामान पनि ट्याक्टरमा भेटिएपछि भन्सार कार्यालयकै मिलेमतोमा भइरहेको राजस्व छली बाहिर आएको हो ।