विराटनगर-चारवटा साइकलमा केशलिया खोलाको किनारबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको कुखुरालाई खुवाउने ठुलो परिमाणको मिल्टी भिटामिन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्टका इन्चार्ज प्रहरी निरिक्षक दिलबहादुर पन्तको कमाण्डमा गएको गस्ती टोलीले विराटनगर-१६ दरैयास्थित केशलिया खोलाको किनारबाट प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल बोइलर कुखुरालाई खुवाउने मल्टिभिटामिन बरामद गरेको हो । चारवटा साइकलमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा गस्तीलाई देखेपछि साइकल छाडेर चारै जना भारततर्फ भागेका थिए ।
बरामद ७६७ बोतल मध्ये सय एमएलको ४३३ बोतल, २०० एमएलको १४८ बोतल र ५०० एमएलको १४८ बोतल छन् । ठूलो परिमाणमा भित्र्याइएको भिटामिन ‘ए’ तथा ‘डी-३’ सिरफ ठूलै कारोबारीको हुनसक्ने आशंका गरिएको छ । सामान लिएर आउनेहरु भारतीय वा नेपाली कहाँका नागरिक हुन् भन्ने यकिन भएको छैन ।
बोइलर कुखुरालाई वजन बढाउन प्रयोग हुने मल्टिसोल अवैध रुपमा नेपाल भित्राईरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । पोष्टका इन्चार्ज शप्रनि पन्तका अनुसार बरामद साइकल र भिटामिन भन्सार कार्यालयमा बुझाइएको छ । चोरी पैठारीमा संलग्नहरु भने प्रहरीलाई देख्नासाथ फरार भएको पन्तको बताए । एकसय एमएलको मल्टिसोलको खरिद मूल्य १८५, २०० एमएलको ३६० र ५०० एमएलको ६९० भारतीय रुपैँया पर्दछ ।

