अर्घाखाँची जिल्लामा पहिरोले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी बस्ने जिवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनार रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो। मंगलवार राति पहिरोले पुरिँदा सुनारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले जनाए ।
उनका अनुसार ६ जना सदस्य रहेको परिवारका चार जना घरमा थिएनन् । मृतकका दाजु तथा उनका साथी घरमा टिभी हेरिरहेको बेला पहिरो गएको थियो ।
पीडित सुनारको घरमा पालिएको एक रागोको जिवितै उद्धार गरिएको छ भने एउटा भैँसी, ६ वटा बाख्रा तथा अन्नपात लत्ता कपडा सबै घर सँगै पुरिएका नष्ट भएको जनाइएको छ । परिवारलाई हाल उनकै दाजुको घरमा स्थानान्तरण गरिएको छ ।

