विराटनगर - घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुषलाई आज बिहान मृत फेला परिएको छ । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताललाई घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहनु भएका धिताल गत शनिबार घरबाट काममा जान भनेर निस्किनु भएको थियो । परिवारका सदस्यसँग सम्पर्कविहीन भएकाले खोजी भइरहेका बेला खोला किनारमा झाडीमा अड्किएको र घोप्टो परेको अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । बाढी आएको खोला तर्ने क्रममा धिताललाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खोलाले बगाएर कि अरु नै कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याएर घटनाको अनुसन्धान थालेको छ ।

