विराटनगर-  भारतबाट लागुऔषध ओसारपसार गर्ने अवैध धन्दामा संलग्न गिरोहले सुरक्षाकर्मीलाई छल्नका लागि विभिन्न उपाय लगाउन थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा गरिएको सुरक्षा कडाइपछि कानुनद्धारा बर्जित लागुुऔषध ओसार्न गिरोहले विभिन्न उपायको अवलम्बन गर्न थालेका हुन् । विगतदेखि नै भारतीय बजार जोगवनीबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको छ ।

खाने तेलको ग्यालेनभित्र राखेरसमेत लागुऔषधको ओसारपसार हुने गरेको तथ्य फेला परेको छ । ग्यालेनमा तेल ल्याएजस्तो देखाएर लागुऔषध ल्याउने गरिएको प्रहरीले पत्ता लगाएको हो । खाने तेलको ग्यालेनमा राखेर लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट प्रहरीले हिजो साँझ एक जनालाई पक्राउ गरेको छ । जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन् ।

सुनसरी चक्रघट्टीका मगरले ग्यालेनमा तेल राख्दै त्यहाँभित्र लागुऔषध हालेर ल्याएको खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मगरले बोकेको ग्यालेनभित्रबाट लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५, डाइजेल्याप ७५ र फेनारगन ७८ एम्पुल बरामद भएको छ ।

मगरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मगरविरुद्ध इलाका प्रहरी कार्यालय रानीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।