विराटनगर- अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौं सरुवा भएको छ । एक वर्षभन्दा बढी समय मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा खड्का विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए। उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो ।

मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा खड्काले छुट्टै पहिचान बनाउन सके । विशेष गरेर यसअघिका प्रहरी प्रमुखले तोड्न नसकेको अवैध जुवाजन्य खेल फट्का खेलाउने गिरोहको जालो भत्काउन उनी सफल भए । मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउने गिरोहमाथिको कारबाही एसपी खड्काको कार्यकालमा सबैभन्दा उत्कृष्ट देखियो ।

उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छभन्ने छाप छोड्न खड्का सफल भए । आइपरेका जुनसुकै समस्यालाई पनि सहज ढङ्गबाट समाधान गर्ने बाटो पहिल्याउनसक्ने क्षमताका एसपी खड्काले समाजलाई अपराधरहित बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुन्छभन्ने मान्यता स्थापित गराउकाछन । उनको कार्यकालमा प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारले पनि उचाई प्राप्त गर्न सक्यो । खड्काको ठाउँमा मोरङ प्रहरी प्रमुखका रूपमा एसपी जनार्दन जिसीको सरुवा भएको छ ।

जिसी यसअघि प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । उनी पनि सालिन र भद्र प्रहरी अधिकारीका रूपमा चिनिन्छन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) मानबहादुर राईको पनि सरुवा भएको छ । झन्डै दुई वर्ष मोरङमा कार्यरत रहेका राईको इलाका प्रहरी कार्यालय कटारी उदयपुरको प्रमुखका रूपमा सरुवा भएको हो । प्रवक्ताका रूपमा राईको कार्यकाल मोरङमा सफल भएको मानिन्छ । यसैबीच मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ५२ एसपीको सरुवा निकाल्दा प्रदेश १ बाट सात जना परेका हुन् । यसैबीच सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरीमा सरुवा भएको छ ।

उनको ठाउँमा एसपी सञ्जयसिंह थापा प्रहरी प्रमुख बनेर सुनसरी आउने  भएका छन । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । यसैबीच प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा भएको छ । उनको ठाउँमा अर्थात प्रदेश १ प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा इलामका एसपी नवीनराज राईको सरुवा भएको छ । सुरुवा भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रमुखमा एसपी नकुल पोखरेल आउने भएका छन । धनकुटा प्रहरी प्रमुख गोविन्द अधिकारीको नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा सरुवा भएपछि उनको ठाउँमा ट्राफिक महाशाखामा कार्यरत पोखरेल आउने भएकाछन ।

नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा कार्यरत एसपी सुवासचन्द्र बोहराको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखका रूपमा सरुवा भएको छ । यसअघि उदयपुर प्रहरी प्रमुख रहेका एसपी भीमबहादुर दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरुवा भएको छ । सिरहा प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीको प्रदेश १ प्रहरी कार्यालय विराटनगरको मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ । एसपी भुवनेश्वर तिवारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा भएपछि राजभण्डारी विराटनगर आउने  भएका हुन । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रमुखमा एसपी वासुदेव खतिवडाको सरुवा भएको छ । यसअघि एसपी सञ्जीव शर्मा प्रदेश १ का ट्राफिक प्रमुख रहेकाथिए । शर्माको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा सरुवा भएको छ ।