विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकामा मंगलबारदेखी निषेधाज्ञा केही खुकुलो गरेको छ । सोमबार गरिएको निर्णय अनुसार मंगलबारदेखि असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा दैनिक मध्याह्न १२ बजेसम्म सबै पसल खोल्न दिने निर्णय गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र मध्याह्न १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताए । विराटनगरमा मंगलबार बिहानैदेखि सबै प्रकारका पसल खुलेका छन् ।

दैनिक कोरोनाका नयाँ संक्रमितको संख्या एकसय हाराहारी र कहिले त्योभन्दा कम आउन थालेको छ । तर, महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या भने नौ हजारभन्दा धेरै रहेको छ । प्रशासनले यसअघि अति आवश्यक पसल र पुस्तक पसल बिहान ११ बजेसम्मका खोल्न दिएको थियो । प्रशासनले स्वास्थ्य सावधानी अपनाउन र हेलचेक्र्याइँ नगर्न सूचित समेत गरेको छ ।