विराटनगर- विराटनगरका विभिन्न ठाउँमा श्रृङ्खखलावद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ११ का पप्पु सहनीलाई पक्राउ गरेको छ । पक्राउ परेका सहनी माथि प्रहरीले विभिन्न ठाउँमा भएको चोरीको घटनामा संलग्नता रहेको भन्दै कारवाही प्रकृया अगाडि बढाएको छ ।सहनीले असार ७ गते  विराटनगर ११ पिचराका बिकास गुरुङको घरबाट ल्यापटप, त्यही ठाउँकी मुनीदेवी साहको घरबाट चार जोर चाँदीको पाउजु, मोवाइल फोन चोरी गरेका थिए ।

प्रहरीले सहनीलाई पक्राउ गर्दा उनले विभिन्न ठाउँबाट चोरेर संकलन गरेको मोवाइल फोनहरु, एक जोर सुनको झुम्का, चाँदीको बाला, चाँदीको सिक्का, लकेट आदि बरामद गरेको छ । प्रहरीले सहनीलाई चोरी कसुर अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

यसैबिच उता लागुऔषधको गैरकानूनी कारोबार गरेको आरोपमा प्रहरीले मोरगको सुन्दरहरैचबाट एक जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैंचा नगरपालिका ६ स्थित डिपु चोकमा चेकजाँच गर्ने क्रममा २६ वर्षे गोपाल विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा आकस्मिक चेकजाँच गरेको थियो ।विश्वकर्माले बोकेको झोलामा विभिन्न प्रकारका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई लागुऔषध कारोवार सम्बन्धी कसुरमा कारवाही गर्न थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।