विराटनगर- टिपरले ठक्कर दिँदा मोरङको रंगेलीमा मंगलबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ स्थित रंगेली बजारमा भएको दुर्घटनामा रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार खड्काले चलाएको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । बिहान ९ः१५ बजेतिर भएको दुर्घटनामा परेर खड्का गम्भीर घाइते हुनु भएको थियो ।

उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ खड्काको मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीले टिपर र चालक मोरङको धनपालथान गाउँपालिका–६ का ३९ वर्षीय विद्यसागर रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।