विराटनगर - सिमान्तकृत वर्गको मुद्दा उठाउने सवालमा आफू अत्यन्तै जिम्मेवार र जवाफदेही रहेको प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले बताएकीछिन् ।आगामी बजेटमा दलितका मुद्धाहरु समेटिनुपर्ने विषय उठान गर्दै रिडेफ नेपाल विराटनगर र समता फाउण्डेसनले आयोजना गरेको भर्चुअल ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री राईले वर्षाैदेखि अपहेलना खेपेर बसेको दलित समुदायका मुद्दाहरुलाई उठाउने सवालमा आफू सधैँ सकारात्मक रहेको बताएकी हुन् ।
सामाजिक विभेद, अन्याय र अत्याचारको विरोधमा आफू जहिल्यै पनि विद्रोह गर्न तयार रहेको बताउँदै उनले दलित समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकासमा आफूले सक्दो प्रयास गर्ने उल्लेख गरिन् । सीप विकास र उद्यमशिलतालाई बजेटमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री राईले विगतको समाजमा केही लोभीपापीहरुले जातको विभाजन गरेको धारणा राखिन ।
जसका कारण एउटा मान्छेबाट अर्काे दविएर र हेपिएर बस्नुपर्याे । तर, त्यसको अन्त्य गर्न समाजको सबै पक्ष लाग्नुपर्छ उनले भनिन ।’दलितका मुद्दामा काम गर्ने प्रदेश १ का दर्जनौं संस्थाहरुको सहभागितामा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको थियो । प्रदेश १ को विभिन्न स्थानमा काम गरिरहेका एक सय तीन संघ–संस्थाहरुले सङ्युक्त ज्ञापनपत्र हस्तान्तरण गर्दै सरकारलाई दलित मैत्री बजेट ल्याउन आग्रह गरेका छन् ।
रिडेफ नेपाल विराटनगर र समता फाउण्डेसनको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा दलित समुदायको सामाजिक—आर्थिक अवस्थाको विस्तृत विवरण प्राप्त हुनेगरी अध्ययन गर्ने र अध्ययनबाट प्राप्त तथ्यका आधारमा दलित समुदायले भोगिरहेका समस्याको दीर्घकालीन समाधानको खोजी गर्न माग गरिएको छ ।

