विराटनगर - प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
एक जना गम्भीर घाइते भएका छन् । हिजोसाँझ ७ः३५ बजेतिर विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त गाडी प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको खुलेको छ । छोरा रोविनले चलाएका बेला उक्त गाडीले ठक्कर दिँदा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषित गरेका हुन् । कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका छन् ।
उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते दुवै जना विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् । दुर्घटना लगत्तै कार चालक फरार बनेका छन् । प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि थिए । भेला भएकाहरु दुर्घटनामा परेका घाइतेको उद्धारमा व्यस्त रहेका बेला चालक कार्की भने कार घटनास्थलमै छाडेर फरार भएका थिए । दुर्घटनामा परेर कार क्षतिग्रस्त बनेको छ ।

