विराटनगर- मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि तत्परता देखाएको हो ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरे । ‘बेलबारी नगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको रोकथामका लागि खोप नै भरपर्दो माध्यम हो,’ मेयर सुवेदीले लेखेको पत्रमा भनिएको छ, ‘बेलबारीका नागरिकको जिउ, ज्यान र स्वास्थ्य सुरक्षाका लागि १८ वर्षमाथिका ४० हजार नागरिकका लागि आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरेको छ ।
त्यसका लागि स्वीकृति प्रदान गरिदिनु हुन अनुरोध छ ।’ ४० हजार नागरिकलाई पहिलो र दोस्रो गरेर ८० हजार डोज खोप आवश्यक पर्ने पत्रमा उल्लेख छ । मेयर सुवेदीले जतिसक्दो चाँडो स्वीकृति दिएर खोप खरिदका लागि सहजता प्रदान गर्दै जनताको ज्यानको रक्षाका लागि सहयोग गर्न सङ्घीय सरकारसँग माग गरेकाछन । बेलबारीमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५० भन्दामाथि छ । कोरोनाका कारण बेलबारीमा १० जनाको मृत्यु भइसकेको छ ।

