विराटनगर- प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताइन । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले सो कुरा बताएकीहुन ।
विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उनले बताइन । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन । उनले भनिन,‘ सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन ।’
गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उनले बताइन । सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईकोे भनाई छ । उनले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत बताइन । सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाईरहेको जानकारी दिइन । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।
उनले महिला, बालबालिका, जेष्ठ नागरिक संवन्धिको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे। उनले सामाजिक विकास परिषद् गठनमा जोड दिए। कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा उनले जोड दिइन ।
माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताइन । उनले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरिन । अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्राकार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

