विराटनगर- कोरोना संक्रमितको संख्या बढिरहेका बेला मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगमा भने समस्या आएको छ । आज बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको हो ।
उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ । बिग्रिएको मोटर मर्मत सम्भार गरेर उद्योग सञ्चालनका लागि प्रयास भइरहे पनि सम्भव हुन नसकेको उद्योगका स्टोर इन्चार्ज उद्धाव थापाले जानकारी दिए ।
उद्योगले दैनिक सात सय सिलिन्डरजति अक्सिजन उत्पादन गर्छ । तर उद्योगमा दैनिक १२ सय सिलिन्डरभन्दा बढी अक्सिजनको माग रहेको थापाले बताए । माग भएर आएका अस्पताल वा निकायबाट ल्याइएका खाली सिलिन्डरलाई रिफिल (पुनः भरेर) उद्योगले अक्सिजन पठाउने गरेको छ । यसअघि दैनिक १२ घण्टा चल्ने उद्योग अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको संख्या बढेपछि २४ घण्टा नै चलिरहेको थियो ।
थापाका अनुसार मेसिनरी चिज भएकाले नियमित चलाउँदा समस्या आएर उत्पादन रोकिने अवस्था बनेको छ । उहाँले उत्पादन बढाएर आपूर्तिको व्यवस्था मिलाइएका बेला केही बेर उत्पादन रोकिँदा अस्पतालहरुमा रहेका धेरै बिरामी अक्सिजन अभावले समस्यामा पर्ने बताए । थापाका अनुसार उद्योगमा समस्या आएकाले तत्काललाई अक्सिजन आपूर्तिको विकल्प खोज्नका लागि अस्पतालहरुलाई जानकारी गराइसकिएको छ ।
प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । सबै उद्योगमा अक्सिजनको माग अत्याधिक छ । सबै उद्योगले गरेर दैनिक तीन हजार सिलिन्डर बढी अक्सिजन उत्पादन गरिरहेका छन् ।

