विराटनगर- एम्बुलेन्समा राखेर गाँजा तस्करी गरेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– २ रत्नरोडबाट प्रहरीले एम्बुलेन्सबाट एक सय केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा घर धरान उपमहानगरपालिका – ११ बस्ने २८ वर्षीय पोशन राई छन् । लिम्बू एम्बुलेन्स चालक हुन् । पोशन एम्बुलेन्समा सवार थिए ।गएराति अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आँउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकर चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको थियो ।
एम्बुलेन्सको पछाडीको भागमा २५–२५ केजीको ४ वटा झोलामा एक सय केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान शुरु गरीएको प्रहरीले जनाएको छ ।

