विराटनगर- कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ । स्काउटरलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको समन्वय एवं सहकार्य र प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो । १५ जना स्वयंसेवक र प्रशिक्षार्थीलाई सहभागी गराएर झापामा हिजोबाट चार दिने तालिम सुरु गरिएको छ । विराटनगरमा आइतबारबाट स्काउटमा आवद्ध १५ जनालाई सहभागी गराएर चार दिने तालिम दिन थालिएको थियो । सुनसरीको इटहरीमा भोलिदेखि १० जनालाई तालिम दिन थालिने सैनिक स्रोतले बतायो ।
विराटनगरमा भइरहेको तालिमको सहजीकरण मोरङको थलाहास्थित भैरव गणले गरिरहेको छ । शव व्यवस्थापन लगायत कोरोनासँग सम्बन्धित विभिन्न प्राविधिक विषयमा जानकारी दिइने तालिममा नेपाली सेनाका सह–सेनानी र चिकित्सक एवं प्राविधिकसहित सात जनाको टोलीले प्रशिक्षण दिइरहेको हो ।
संक्रमितको मृत्यु हुँदा शवको व्यवस्थापन स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षितसाथ सेनाको विशेष टोलीले गरिरहेको छ । तालिमपछि संक्रमितको शव व्यवस्थापनमा स्काउटर पनि परिचालन गरिने प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए।

