विराटनगर- मोरङको रङ्गेलीमा हत्या गरेर फ्यालेको अवस्थामा आज बिहान एक महिलाको शव भेटिएको छ । धारिलो हतियाले घाँटी रेटेर हत्या गर्दै नहरमा फ्यालेको अवस्थामा शव फेला परेको हो । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । ‘प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले भने ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ ।’ प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन ।
हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गर्दै घटनाको विशेष ढंगले अनुसन्धान अघि बढाएको छ । प्रहरीलाई शव भेटिएको जानकारी बुधबार बिहान ८ बजेतिर आएको थियो ।

