विराटनगर- कोरोना सङ्क्रमित छ जनाको उपचारका क्रममा विराटनगरमा र २ जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगरका दुईवटा अस्पतालमा पछिल्लो १० घण्टाभित्र तीन वृद्धसहित छ जना पुरुषको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा पाँच र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमध्ये दुई जना प्रदेश २ को सिरहा र सप्तरी तथा तीन जना प्रदेश १ को सुनसरी, उदयपुर र विराटनगरका बासिन्दा हुन् । सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको दाहालले बताए । मृतकलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः४५ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो । विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४ः२० बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १ गते शनिबार अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए।

सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । वृद्धको मृत्यु बिहान ६ बजेतिर भएको दाहालले बताए । उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । दाहालका अनुसार उनको मृत्यु गय राति १०ः३० बजेतिर भएको हो । कोरोनाका कारण अवस्था गम्भीर रहेका वृद्धालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उनको मृत्यु बिहान ३ः३० बजेतिर भएको हो । कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उता सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उच्चरक्तचाप र मधुमेहको दीर्घरोगी उनलाई जेठ १ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सोमबार बिहान साढे ६ बजे त्रियुगा ३, उदयपुरकी ५० बर्षीया महिलाको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ । मृतक महिलालाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या थियो । वैशाख २७ गते संक्रमण पुष्टि भएपछि २८ गते उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।