विराटनगर- भारतदेखि घुमफिरका लागि नेपाल आएका एउटै परिवारका श्रीमान–श्रीमतीको कोरोना संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ । ६९ वर्षीय वृद्ध पुरुष र उनी श्रीमती ६४ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरु भारतको मुम्वईबाट पुर्खेउली थलो ताप्लेजुङ घुम्न आएका थिए । वृद्धको जन्मस्थल पनि ताप्लेजुङ नै हो । चार महिनाअघि ताप्लेजुङ आएका उनीहरु डेढ महिनाअघि मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा पाहुना आएका थिए । पथरीमा वृद्धा महिलाका दिदीबहिनीको घर रहेको वडाध्यक्ष बाबुराम यङ्देनले जानकारी दिए ।
पथरीशनिश्चरेमा आएर आफन्तकोमा बसिरहेका बेला बिरामी परेपछि दुवै जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि भर्ना गरिएको जानकारी नोबेलका प्रबन्धक नारायण दाहालले दिए।
उनका अनुसार पीसीआर परीक्षण गराउँदा दमको पुरानै समस्या रहेका वृद्ध दम्पतिको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि कोभिड वार्डमा भर्ना गरेर उपचार थालिएकामध्ये श्रीमतीको आज बिहानका राति १ बजे र श्रीमानको बिहान ११ बजेतिर मृत्यु भएको दाहालले बताए ।
मृतक वृद्ध–वृद्धाका दुई छोरा परिवारसहित भारतकै मुम्वईमा बस्छन् । कोरोना संक्रमणका कारण दुई देशीय सीमा नाका सिल गरिएको हुँदा दुवै छोराले बाबु–आमाको मृत्युपछिको संस्कारमा सहभागी हुन नपाएको वडाध्यक्ष यङ्देनले बताए ।
छोरा आउन नपाए पनि आफन्तकै उपस्थितिमा संक्रमित दम्पतिको शव भने पथरीशनिश्चरेको जय चोकस्थित जंगलमा लगेर नियमअनुसार व्यवस्थापन गरिएको उनको भनाइ छ । यङ्देनकै पहल र सक्रियतामा खाल्डो खनेर शवको व्यवस्थापन गरिएको हो ।

