विराटनगर- काममा लगाएवापतको पैसा नदिएको भन्दै मोरङको लेटाङमा छुरा हानेर गय राति एक युवाको हत्या गरिएको छ । दुई युवाले छुरा प्रहार गरेर लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले जनाएको छ । लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर रोमनमाथि छुरा हानेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार दर्जी र लिम्बूले विवाद गरेर लेटाङकै त्रिसूली चोकमा रोमनलाई छुरा हानेका हुन् । पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट आज बिहान पक्राउ गरेको छ । अर्यालकै नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी राईले दिए । प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

