विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म लैजान आफ्नै गाडी उपलब्ध गराएकाछन। विराटनगरमा अब सङ्क्रमण पुष्टि भएकाले उपचारका लागि अस्पतालसम्म जान र उपचार ठीक भएपछि घरसम्म फर्कन प्रमुख र पराजुलीको गाडी प्रयोग गर्न पाउने भएका छन् ।
कोरोना सङ्क्रमितलाई बोक्नका लागि महानगर प्रमुख पराजुलीले आफूले प्रयोग गर्दै आएको गाडी निःशुल्क उपलब्ध गराएकाहुन । कोरोना सङ्क्रमितलाई बोकेर अस्पतालसम्म लैजाने एम्बुलेन्सका रुपमा आफूले चढ्दै आएको गाडी उपलब्ध गराउने निर्णय लिएको महानगर प्रमुख पराजुलीले बताए। सङ्क्रमितले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको प्रमुख पराजुलिले बताए ।
एक विज्ञप्ति प्रकासित गरेर प्रमुख पराजुलीले कोरोनाको बढ्दो सङ्क्रमणका कारण समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यका लागि गाडी प्रयोग गर्न दिएको जानकारी दिए। तोकिएका सवारी साधन प्रयोग गर्न चाहनेले महानगर कार्यालय अर्थात प्रमुखको सचिवालयमा सम्पर्क गर्न सक्ने छन् । ‘सङ्कटको घडीमा हामी आफूले आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौँ,’ पराजुलीले प्रकासित गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयूभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । ‘थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म एउटा राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले सहयोग गरेको हुँ,’ न्यौपानेले भने ।

